इरान-इजरायलमा रहेका एक जना नेपाली नागरिकले पनि स्वदेश फर्किन चाहे सरकारले ल्याउँछः परराष्ट्रमन्त्री राणा


काठमाडाैँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले द्वद्वग्रस्त देशहरू इरान-इजरायलयमा रहेका एक जना पनि नेपालीहरूले स्वदेश फर्किन चाहेको खण्डमा नेपाल ल्याइने बताएकी छन् ।

इरान र इजरायलमा सुरू भएको युद्धका बारेमा त्यहाँ रहेका नेपालीहरूलाई कसरी उद्धार गर्ने र उनीहरूको सुरक्षा गर्ने भन्ने योजना बनाउनका लागि सिंहदरबारमा बसेको श्रम,रोजगार तथा सामाजिक सुरक्षा, परराष्ट्र, गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका मन्त्री र पदाधिकारीहरूसँगकाे छलफल भएको हो ।

छलफलमा युद्धग्रस्त देशहरूबाट नेपाल फर्किन चाहने नेपालीहरुलाई स्वदेश ल्याउन सरकारले काम गरिहरेको बताइन् । नेपाल फर्किन चाहना राख्ने र अफ्ठ्यारोमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन सरकार सक्षम रहेको जिकिर गरिन् । सरकारले इरान र इजरायलको युद्ध शुरु भएदेखि गम्भीरतापूर्वक नियालिरहेको भन्दै ट्राभल इड्भाइजरी सुरू गर्ने काम पनि गरेको बताइन्।

सरकारले एउटा पोर्टल बनाएर इजरायल र इरानमा रहेका नेपालीहरूको बारेमा विवरण संकलन गर्न सुरू गरेको र अहिलेसम्म ६ सय ३ जनाले एपमा आफ्नो विवरण उपलब्ध गराएको बताइन् । जसमध्ये २० जनाले मात्रै फर्किन चाहेको बताइन् । आइतवारदेखि सबैतिरको श्रममा गएका साथीहरूलाई रजिस्टर गर्नसक्ने एप सार्वजनिक गर्ने तयारीमा रहेको बताउँदै त्यस एपमा सबैले आफ्नो विवरण उपलब्ध गराउनसक्ने बताइन्।

भारतको परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर भारतीय नागरिक फिर्ता ल्याउँदा नेपालीहरुलाई पनि ल्याउन आग्रह गर्ने बताइन् । परराष्ट्रमन्त्री डा. राणाले इजरायलमा दुई हजार जना भन्दा बढी नेपाली रहेको पाएको बताइन् । मन्त्री राणाले सरकारले नेपाली नागरिकहरुको सुरक्षा र उद्धारका लागि गर्नुपर्ने अवस्थामा सम्भव भएसम्मका सबै उपाय, पहल र प्रवन्ध गर्ने बताइन् ।