देशभर मनसुन सक्रिय, केही स्थानहरूमा भारी वर्षाको सम्भावना


काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मनसुनको प्रभावले आज (शनिबार) दिउँसोदेखि रातिसम्म देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।

शनिबार दिउँसो देशको पहाडी भू-भागका केही स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा भने भारी वर्षा हुन सक्ने मौसमविद्हरूले अनुमान गरेका छन्। त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ।

शनिबार रातिसमेत देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागहरूमा केही स्थानहरूमा र बाँकी भागहरूमा थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अत्यधिक भारी वर्षाको जोखिम समेत देखिएको छ।

मौसमविद्हरूले मनसुनको सक्रियताका कारण पहिरो, बाढी तथा सवारी आवागमनमा अवरोध जस्ता सम्भावित जोखिमप्रति सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।