स्याङ्जामा लागू पदार्थ सेवन गरी गाडी चलाउने ४ जना चालक कारवाहीमा


स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागू पदार्थ सेवन गरी सवारी साधन चलाउने चार जना चालकलाई नियन्त्रणमा लिई कानुनी कारवाही अघि बढाएको छ । सडक दुर्घटना न्यूनीकरण तथा यात्रालाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले चेकिङ अभियान संचालन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जेठकाे ६ गतेदेखि सुरू गरेको ‘लागू पदार्थ सेवन चेकिङ अभियान’ अन्तर्गत पुतलीबजार नगरपालिका–१ स्थित बसपार्क क्षेत्रमा चेकिङ गरिएको थियो । प्रदेश अस्पताल पुतलीबजार स्याङ्जासँगको सहकार्यमा सिद्धार्थ राजमार्गमा गुडिरहेका २४ वटा निजी तथा सार्वजनिक सवारी साधनहरु रोकी टीएचसी (टेट्राहाइड्रोक्यानाबिनोल) टेस्ट किटमार्फत चालकहरूको मूत्र परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा चार जना चालकले लागू पदार्थ सेवन गरी सवारी साधन चलाएको पुष्टि भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका चालकहरूमा पोखरा महानगरपालिका–२७ का २५ वर्षीय विजय राना मगर, कालिका नगरपालिका–८ चितवनका २३ वर्षीय सुदिप पुलामी मगर, इच्छाकामना गाउँपालिका–६ चितवनका २२ वर्षीय सन्दिप गुरुङ र पुतलीबजार नगरपालिका–७ स्याङ्जाका २३ वर्षीय संगम थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले यस्ता चेकिङ अभियानलाई नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ । लागू पदार्थ सेवन गरी गाडी चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्न र यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न अभियान प्रभावकारी हुने विश्वास प्रहरीको छ ।