अस्ट्रेलियाको बसाइँसराइ दरमा ३० प्रतिशतभन्दा बढीको गिरावट, जनसंख्या वृद्धि ३ वर्षकै न्युन


काठमाडाैँ । अस्ट्रेलियामा सन् २०२४ को बसाइँसराइ दर ३० प्रतिशतभन्दा बढीले घटेको देखिएको छ, जसको असर देशको कुल जनसंख्या वृद्धिमा परेको छ।

अस्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्स (एबीएस) द्वारा सार्वजनिक तथ्याङ्क अनुसार, यस वर्ष अस्ट्रेलियाको राष्ट्रिय जनसंख्या १.७ प्रतिशतले अर्थात् ४ लाख ४५ हजार ९ सयले वृद्धि भई कुल जनसंख्या २७.४ मिलियन पुगेको छ। यो दर २०२३ को २.४ प्रतिशत वृद्धिको तुलनामा उल्लेखनीय गिरावट हो।

कोरोना महामारीपछि सन् २०२१ मा अन्तर्राष्ट्रिय सीमाना बन्द भएयता यो एकै क्यालेन्डर वर्षको सबैभन्दा कम वृद्धिदर हो। २०२४ मा करीब ५ लाख ९४ हजार ९ सय मानिसहरू विदेशबाट अष्ट्रेलियामा बसाइँ सरेका थिए भने २ लाख ५४ हजार २ सय जना अस्ट्रेलियाबाट बाहिरिएका थिए। यसरी कुल ३ लाख ४० हजार ७ सय ५० जनाले विदेशबाट अस्ट्रेलियामा बसाइँ सरेका छन्, जुन २०२३ को तुलनामा ३५.७ प्रतिशतले कम हो।

त्यस्तै, अन्तर्राष्ट्रिय आगमनमा १९.५ प्रतिशतको गिरावट आएको छ भने प्रस्थान गर्नेहरूको संख्या २२ प्रतिशतले वृद्धि भएको छ।

प्रधानमन्त्री एन्थोनी अल्बानीज नेतृत्वको सत्तारुढ लेबर पार्टीले आवास आपूर्तिमा दबाब कम गर्न सन् २०२४–२५ को आर्थिक वर्षमा अस्ट्रेलियाको खुद बसाइँसराइ २ लाख ६० हजारमा सीमित गर्ने लक्ष्य लिएको थियो।एबीएसका अनुसार, २०२४ मा अस्ट्रेलियाको जनसंख्यामा प्राकृतिक वृद्धिबाट १ लाख ५ हजार २ सय जनाको वृद्धि भएको छ। उक्त वृद्धिमा करिब २ लाख ९२ हजार ४ सय जन्म र १ लाख ८७ हजार ३ सय मृत्युका घटना परेका थिए।