भैरहवा जेलबाट रविको भावुक सन्देशः म निर्दोष छु, मलाई गम्भीर षड्यन्त्रमा फसाइएको छ


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि गरिएको कारबाही गम्भीर षड्यन्त्रको परिणाम भएको दाबी गरेका छन्।

पार्टीकाे तेस्रो स्थापना दिवसका दिन आज असार ७ गते सभापति लामिछानले रुपन्देही जिल्ला कारागार (भैरहवा) जेलबाटै लामो सन्देश जारी गर्दै लामिछानेले आफ्नो चरित्र हत्या गर्न योजनाबद्ध रूपमा आरोपहरू लगाइएको र न्याय पाउन नसकेको गुनासो गरेका छन्।

पत्रमा उनले नेपालको राजनीतिमा आफू जस्ता आम नागरिकबाट उठेको मान्छेलाई स्थापित वर्गले स्वीकार्न नसकेको दाबी गरेका छन्। लामिछाने लेख्छन्, “शासकीय हैकममा रमाउनेहरूलाई जनताको प्रतिनिधि बनेर आवाज उठाउने मानिस असहज लागेछ। त्यसैले मलाई बदनाम गर्ने, लाञ्छित बनाउने र कानुनी प्रक्रिया दुरुपयोग गर्दै बञ्चित गराउने खेल भयो।”

लामिछानेले अमेरिकी नागरिकता परित्याग प्रकरणदेखि लिएर नागरिकता प्रमाणपत्र, राहदानी र गैरकानुनी रूपमा मन्त्री नियुक्ति सम्बन्धी घटनाहरू विस्तारमा उल्लेख गरेका छन्। उनले लेखेका छन्, “मेरो विरुद्ध लगाइएको सबै आरोपहरू झूठा छन्। अदालतको फैसलामा मेरो पक्षमा कुनै प्रमाण नभए पनि निर्णय गरियो।”

उनले सर्वोच्च अदालत, नागरिकता सम्बन्धी कानुनको व्याख्या, निर्वाचन आयोगको निर्णय र केही न्यायाधीशहरूको निष्पक्षता माथि समेत प्रश्न उठाएका छन्। उनले लेखेका छन्, “मेरो राजनीतिक भविष्य समाप्त पार्ने नियतले यी सबै प्रक्रिया मिलाएर चलाइयो।”