प्रधानमन्त्री ओलीसँग भेटेपछि नवराज बोहरा उत्साहित, अभियानलाई नयाँ स्वरूप दिने तयारी


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न पाएकोमा उत्साहित अभियानकर्मी नवराज बोहरा प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलगायतका मुद्दा उठाउँदै गत जेठ ४ गतेदेखि सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रामा रहेका बोहराले ३१ दिनपछि असार ३ गते राजधानी प्रवेश गरेका थिए। सोही दिन प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका बोहराले आज भेटन् पाएका हुन्।

बोहराले प्रधानमन्त्री ओलीलाई अभियानको क्रममा देखेका अनुभव, उपचार नपाएका बालबालिकाका समस्या र समाधानका पहलबारे जानकारी गराए। प्रधानमन्त्री ओलीले शरीर धेरै दुख नदिन र स्वास्थ्य र परिवारको ख्याल गर्न सुझाव दिएका छन् भने पवित्र भावका साथ अभियान अघि बढाउन आग्रह पनि गरे।

प्रधानमन्त्रीसँग भेटेपछि बोहराले पहिलो चरणको अभियान अझै पूरा नभएको भन्दै अब जुत्ता लगाएर दाह्री काटी नयाँ रूपमा अगाडि बढ्ने बताए । उनले आफ्नो कुराहरू सुनाउन पाउँदा खुशी व्यक्त गरे ।