काठमाडाैँ । स्याङ्जाकाे भीरकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गरेको छ।
आइतबार सम्पन्न १६औं नगर सभामा नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपप्रमुख भगवती रेग्मी अर्यालले बजेट विवरण सार्वजनिक गरेकी हुन् ।
नगर प्रमुख कर्माचार्यले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा विशेष गरी बयरघारी–सुन्दर बजार–मोहनडाँडा–हातेमालोचोक र बयरघारी–बिरुवा सडकलाई प्राथमिकता दिई स्तरोन्नति गरिने जनाइएको छ। साथै, सबै वडाका ग्रामीण सडकलाई वर्षैभरि सवारी साधन चल्न सक्ने बनाइने लक्ष्य राखिएको छ।
नीति तथा कार्यक्रममा आँधिखोलाको तटबन्धन, कृषि औजार र सिँचाइमा ५० प्रतिशत अनुदान, भीरकोट पार्क, गडहरे गुफा, सुन्दरचौर, स्वरेक मैदानजस्ता पर्यटकीय स्थलको व्यवस्थापन, बालमैत्री स्थानीय शासनको सुदृढीकरण, फोहोरमैला व्यवस्थापन, शैक्षिक गुणस्तर अभिवृद्धि, विपद् व्यवस्थापन, गाई संरक्षण तथा गौशाला सञ्चालनलाई पनि प्राथमिकतामा राखिएको छ।
आगामी आर्थिक वर्षका लागि कुल रु. ८२ करोड २८ लाख ५२ हजार विनियोजन गरिएकोमा चालू खर्चतर्फ मात्रै ७७.७५ प्रतिशत अर्थात् रु. ६३ करोड ९७ लाख ८६ हजार छुट्याइएको छ। यसमध्ये संघीय शर्तअनुदान रु.३२ करोड ५४ लाख र नगरपालिकाको आफ्नै चालू खर्च रु.१६ करोड ४१ लाख ८६ हजार रहेको छ।
त्यस्तै, पुँजीगत खर्चतर्फ रु.१८ करोड ३० लाख ६६ हजार अर्थात् २२.२५ प्रतिशत र सामाजिक सुरक्षाका लागि रु.१८ करोड अर्थात् २१.८८ प्रतिशत विनियोजन गरिएको छ। बजेटको स्रोतमा चालू वर्षको मौज्दातबाट रु.३ करोड, आन्तरिक राजस्वबाट रु. ६ करोड ३० लाख, राजस्व बाँडफाँटबाट रु.९ करोड ४४ लाख ५८ हजार १ सय ८९, समानिकरण अनुदानबाट रु.११ करोड ९ लाख ९४ हजार र अन्य स्रोतबाट रु.९० लाख रहने अनुमान गरिएको छ।
स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, युवा स्वरोजगार, पर्यटन प्रवर्धनलगायत क्षेत्रका कार्यक्रमहरूलाई बजेटमा समेटिएको छ। विपन्न नागरिकलाई लक्षित स्वास्थ्य बिमा, घुम्ती स्वास्थ्य शिविर, खोप कार्यक्रम विस्तार, सुत्केरी पोषण कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन, उन्नत मल बीउ तथा जात सुधार कार्यक्रम, युवा सीप विकास र स्वरोजगार, धार्मिक तथा आन्तरिक पर्यटन प्रवर्धनलगायत कार्यक्रमहरू सञ्चालन गरिने उल्लेख छ।
महिला, बालबालिका, दलित, जनजाति, जेष्ठ नागरिक, अल्पसंख्यक, फरक क्षमता भएका व्यक्तिहरू तथा लोपोन्मुख वर्गको सशक्तिकरणका कार्यक्रम पनि समावेश गरिएको छ।
नगर सभाले नीति तथा कार्यक्रम पारित गरिसकेको छ भने बजेटमाथिको छलफल असार ३० गतेको नगर सभामा हुने भीरकोट नगरपालिकाले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्