काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा अब मानव जीवनको लागि अक्सिजन सरह बनेको महसुस भइसकेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा विनियोजन शिर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले ऊर्जा केवल पूर्वाधार निर्माणको विषय मात्र नभई समृद्ध राष्ट्र निर्माणको मेरुदण्ड हो भन्नेमा कुनै द्विविधा नरहेको स्पष्ट पारेका हुन् ।
उनले भने “ऊर्जा निर्यात र सदुपयोग मात्र होइन, यो आज मानव जीवनको अक्सिजन भइसकेको छ। ऊर्जा अब केवल पूर्वाधार होइन, समृद्ध राष्ट्रको मेरुदण्ड हो भन्नेमा हामी सबै एकमत छौँ।”
ऊर्जा सुरक्षाको सुनिश्चितता र दीर्घकालीन आत्मनिर्भरता कायम गर्न सरकार कटिबद्ध रहेको उल्लेख गर्दै उनले आगामी दस वर्षभित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए ।
उनका अनुसार सो कुल विद्युत् उत्पादनमध्ये १३ हजार ५०० मेगावाट आन्तरिक खपतका लागि प्रयोग गरिनेछ भने १५ हजार मेगावाट निर्यात प्रयोजनको लागि उपयोग गरिनेछ।
“भारतमा हाल १० हजार मेगावाट निर्यात गर्ने सम्भावना छ। बङ्गलादेशसँग ४० मेगावाट विद्युत् निर्यातको सम्झौता भइसकेको छ,” उनले भने, “बङ्गलादेशको माग र हाम्रो उत्पादन क्षमतालाई ध्यानमा राखेर आगामी दिनमा १५ हजार मेगावाटसम्म निर्यात गर्न सकिने अनुमान गरिएको छ।”
सरकारले ऊर्जा क्षेत्रमा निर्धारण गरेको लक्ष्य हासिल गर्नका लागि झण्डै ९८ दशमलव ९ अर्ब अमेरिकी डलर बराबरको लगानी आवश्यक पर्ने पनि मन्त्री खड्काले स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्