सुनको दरमा रेट बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर निस्किँदैनः प्रमुख सचेतक शाही


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सुनको दरमा रेट बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर ननिस्कने बताएका छन् ।

अर्थ समितिको सोमवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सचिवहरूले मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सुनको दरमा रेट बढाएको बताउनुभएको भन्दै उनले झुटो कुरा नगर्न सचेत गराए ।

सोमवार आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदन र बैङ्क तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल भएको हो । जसबारे बोल्दै उनले यो विधेयकले सुन गएर भारतबाट किनेर लेउ र नेपालको व्यवसाय बन्द गर भन्ने किसिमको देखिएको जिकिर गरे ।

“यो सुन गएर भारतबाट किनेर ल्याउ, नेपालको व्यवसाय बन्द गर भनेर भारतको एम्बेसीबाट काम भएको हो । ग्रे लिस्टबाट हट्न के गर्नुपर्छ भनेर एक पटक गुगल खोज्नुस् त । सम्पती शुद्धिकरण गर्ने हो । करको दायरामा ल्याउने हो । करको दररेट बढाउने हो ? अलरेडी करको दायरामा छ त सुनहरु । १० प्रतिशत छैन । जो दायरामा छैन, त्यसलाई दायरामा ल्याउने हो । ग्रे लिस्टबाट हट्न सम्पती शुद्धिकरण गर्नुपर्छ । सुनको दरमा रेट बढाएर ग्रे लिस्टबाट आउट हुन्छ ? यो नभनिदिनुस्,” उनले भने ।

प्रमुख सचेतक शाहीले यो विधेयकले सुन व्यवसायमा रोजगारी गरिरहेका १० लाख परिवारको घर उजाड्ने जिकिर गरे ।