काठमाडौँ–तराई मधेस द्रुत मार्गको प्रगति ४१ प्रतिशत पुग्याेः मन्त्री राई


काठमाडाैँ । रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले कार्यान्वयन गरिरहेको काठमाडौँ–तराई मधेस द्रुत मार्ग (फास्ट ट्र्याक)को प्रगति ४१ प्रतिशत पुगेको जानकारी दिएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै मन्त्री राईले यस्तो जानकारी दिएका हुन् । उनले उपत्यका बाहेक तराईका जिल्लाहरूमा द्रुत मार्गका लागि जग्गा लिने प्रक्रिया सकिएको उल्लेख गर्दै अबको केही महिनाभित्रै उल्लेख्य प्रगति हुने विश्वास व्यक्त गरे ।  

सरकारले २०७४ सालमा नेपाली सेनाको जिम्मा लगाएको दु्रत मार्ग ८ वर्षमा ४१ प्रतिशत मात्र प्रगति रहेको छ । मन्त्री राईले बजेट अभावको कारण १८ वर्ष कटेका युवाहरुलाई नेपाली सेनाको लागि तयारी तालिम दिन नसकिएको समेत स्पष्ट पारे ।

भविष्य नेपाल सरकारले निर्णय गरेको र आर्थिक रूपमा सबल भएको खण्डमा नेपाली सेनाले बम बनाउने योजना रहेको भएपनि तत्काल कुनै कार्य अगाडि नसारिएको स्पष्ट पारे ।