उच्चस्तरीय समितिले भिजिट भिसा प्रकरणबारे गम्भीर ढङ्गले छानबिन गर्नुपर्छः माओवादी केन्द्र


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणको छानबिन गर्न बनाइएको समितिले गम्भीर ढङ्गले काम गर्नुपर्ने बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रका उपमहासचिव पुनले भिजिट भिसासम्बन्धी देखिएका समस्याहरूलाई अध्ययन तथा छानबिन गर्न एकातिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको बताएका हुन् ।

उनले अख्तियार र उच्चस्तरीय समितिको छानबिन निष्पक्ष, पारदर्शी, प्रमाण र तथ्य सङ्गत होस् भन्ने अपेक्षा रहेको बताए । उक्त प्रकरणहरूमा ट्राभल एजेन्सी, म्यानपावर, एयरलाइन्सदेखि कुटनीतिक नियोगका पदाधिकारीहरू समेत जोडिएको मिडियाहरूमा आएको बताउँदै यसको छानबिन उच्चस्तरीय छानबिन समितिले गर्ने उनकाे भनाइ छ ।

राज्यका निकायहरूमा विगतदेखि वर्तमानसम्म देखिएका समस्याहरूको सत्य तथ्य ढङ्गले अध्ययन गरी समितिले जनताको भावनाअनुसार सुझाव तथा प्रतिवेदन प्रस्तुत गर्नुपर्ने उनले जिकिर गरे ।

उनले सार्वजनिक रूपमा जनताले निगरानी गरिरहने र गम्भीर ढङ्गले छानबिन भएन र अविश्वासहरू पैदा हुने बताउँदै प्रमुख प्रतिपक्षी दलको तर्फबाट पनि खबरदारी गरिराख्ने उल्लेख गरेका छन्।

उच्चस्तरीय छानबिन समितिले आफ्नो टिओआरअनुसार समक्ष ढङ्गले काम सम्पन्न गरोस् भन्ने कामना रहेको उनले बताए ।