ओभरलोड कडाइसाथ नियन्त्रण गर्न गृहमन्त्री लेखकको निर्देशन


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले छिमेकी मुलुकबाट नेपाल भित्रिने तथा देशभित्र सञ्चालनमा रहेका मालबाहक सवारीसाधनमा ओभरलोड हुन नदिने र यस्ता सवारीसाधनलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।

बुधबार गृह मन्त्रालयमा आयोजित ‘सडक क्षेत्रमा हुन सक्ने विपद्को पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी’ बैठकमा मन्त्री लेखकले देशका विभिन्न स्थानमा रहेका तौलपुलहरूलाई सञ्चालनमा ल्याएर सवारी साधनको भारबहन क्षमताका आधारमा निगरानी गर्न निर्देशन दिएका हुन्।

बैठकमा गृह सचिव गोकर्णमणि दुवाडी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्ट, ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीसहित सम्बन्धित निकायका उच्च अधिकारीहरूको उपस्थिति थियो।

मन्त्री लेखकले वर्षा हुनसक्ने पूर्वानुमान आउने वित्तिकै जोखिमयुक्त क्षेत्रका सडकहरूमा सवारी आवागमन बन्द गरिनुपर्ने र त्यसको जिम्मा स्थानीय प्रशासन, जिल्ला प्रहरी र ट्राफिक प्रमुखले लिनुपर्ने बताए। यदि जोखिमको चेतावनीपछि पनि सवारी चल्न दिइएमा ती अधिकारीमाथि कारबाही गरिने उनले स्पष्ट पारे।

यात्रु सुरक्षामा योगदान दिने चालकहरूलाई पुरस्कृत गरिने तर प्रशासनले निषेध गरेका सडकहरूमा जबरजस्ती सवारी चलाउने व्यक्तिमाथि कानुनी कारबाही गरिने चेतावनी उनले दिए। उनले गत वर्ष यात्रुहरूलाई जोगाउन खोज्दा ज्यान गुमाएका चालक मेघनाथ विकलाई सरकारले सम्मान गरेको उदाहरण दिँदै, जोखिममा दुस्साहसिक तरिकाले सवारी नचलाउन सुझावसमेत दिए।

बैठकमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले यातायात मजदुर तथा व्यवसायीहरूको तर्फबाट तयार गरिएको १७ बुँदे साझा आचारसंहिता प्रस्तुत गरे। उक्त आचारसंहितामा सवारीसाधनको नियमित मर्मत, क्षमता भन्दा बढी यात्रु नचढाउने, ओभरलोड नगर्ने, जोखिम मोलेर सवारी नचलाउने, यात्रुहरूको परिचय विवरण राख्ने, मादक पदार्थको सेवन नगर्ने र नगराउने, महिला तथा अशक्त यात्रुहरूको सम्मानपूर्वक व्यवहार गर्ने, प्राथमिक उपचार सामग्री राख्ने, टिकटको व्यवस्था गर्ने, यात्रुहरूलाई अलपत्र नपार्ने व्यवस्था गर्ने लगायतका प्रतिवद्धता समेटिएको छ।

त्यस्तै, संगीत, भिडियो वा गीतमार्फत लैङ्गिक हिंसा या महिलाहरूको अपमान हुने कुनै पनि सामग्री सवारीसाधनमा नचलाउने, यात्रुहरूलाई असजिलो हुने गरी म्युजिक बजाउने कार्य नगर्ने, हर्न निषेध क्षेत्रमै हर्न नबजाउने, प्रेशर हर्नको प्रयोग नगर्ने, सूचना अद्यावधिक गर्न सुरक्षाकर्मी तथा स्थानीय निकायसँग समन्वय गर्ने जस्ता विषयमा समेत प्रतिवद्धता जनाइएको छ।

गृहमन्त्री लेखकले यो आचारसंहिता अत्यन्तै स्वागतयोग्य र व्यवहारिक भएको भन्दै यसको तत्काल कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरे। उनले सबै यातायात मजदुर र व्यवसायीलाई अभियानमा सहभागी गराउँदै यो संहिता सबै ठाउँमा पुर्‍याउन निर्देशनसमेत दिए।

सडक क्षेत्रमा हुन सक्ने विपद् न्यूनीकरण, यात्रु सुरक्षाको प्रवर्धन, ओभरलोड नियन्त्रण तथा यात्रुवादी व्यवहारको प्रवर्द्धनका लागि सरकारी संयन्त्र र निजी क्षेत्रबीचको सहकार्यको यो पहल महत्वपूर्ण मानिएको छ।