सरकारले लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने


काठमाडाैँ । सरकारले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने भएको छ । 

बिहीवार काठमाडौँमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले यो घोषणा गरेका हुन् ।

उनले सरकारले लागुऔषधको नियन्त्रणलाई उच्च प्राथमिकता दिएको बताए । लागुऔषधलाई नियन्त्रण गर्नका लागि सरकारले आगामी आर्थिक वर्षमा गृह मन्त्रालयअन्तर्गत छुट्टै विभागको स्थापना गर्ने उनले जानकारी दिए । गृह मन्त्रालयले लागुऔषध नियन्त्रणका लागि विभिन्न योजनाहरु बनाएर काम गरिरहेको पनि गृहमन्त्री लेखकको भनाइ छ ।

उनले लागुऔषधको विस्तार धेरै भएको र समाज यसबाट प्रभावित बनिरहेको बताए । देशभरमा कारागारमा रहेका कैदीबन्दीमध्ये दोस्रो सबैभन्दा ठूलो संख्यामा लागुऔषधको दुव्र्यसनी, भण्डारण, ओसारपसार गर्नेहरु रहेको उनकाे भनाइ छ ।

गृहमन्त्री लेखकले मन्त्रालयमा आफू आइसकेपछि लागुऔषध नियन्त्रणमा धेरै चासो दिएर काम गरिरहेको बताए । लागुऔषध आफैँमा एउटा समस्या रहेको र यसले समाजमा अरु समस्या पनि सिर्जना गरिरहेको उनले उल्लेख गरे ।