काठमाडौँमा भाेलिदेखि ‘नेपाल म्याङ्गो फेस्ट–२०२५’ सुरू हुँदै


काठमाडौँ । नेपाली आँपको स्वाद, विविधता र संस्कृतिको प्रवर्धन गर्दै काठमाडौँमा भाेलिदेखि तीनदिम्म ‘नेपाल म्याङ्गो फेस्ट–२०२५’ सुरू हुँदैछ।

नेपाली रङ, स्वाद र आँप संस्कृतिको अनुपम संगमका रूपमा आयोजना हुने यो उत्सव काठमाडौँको लाजिम्पाटस्थित वालनट बिस्ट्रो, स्वयम्भूको एचटुओ क्याफे र झम्सिखेलको वाटरिङ होलमा एकैसाथ सञ्चालन हुनेछ।

यस विशेष उत्सवको औपचारिक उद्घाटन समारोह असार १३ गते दिउँसो १ बजे वालनट बिस्ट्रोमा आयोजना हुनेछ, जहाँ कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ।

फेस्टिभलको आयोजना काठमाडौँ अर्गानिक्स, एग्रि नेपाल, अर्थियर एप र यूबी होल्डिङ्सको सहकार्यमा गरिएको हो। आयोजकका अनुसार, फेस्टिभलको मुख्य उद्देश्य नेपाली आँपको व्यापक पहिचान स्थापित गर्नुका साथै स्थानीय उत्पादन प्रणाली र मूल्य श्रृंखलालाई सुदृढ बनाउनु हो। साथै, उपभोक्ताहरूलाई विषादीरहित, प्राकृतिक तथा मौलिक स्वादका आँपसम्म प्रत्यक्ष पहुँच पुर्‍याउने लक्ष्य राखिएको छ।

तीन दिनसम्म चल्ने यस म्याङ्गो फेस्टिभलमा १० भन्दा बढी प्रजातिका आँपहरूको प्रदर्शनी गरिनेछ। साथै, माल्दा, दशहरी, जरदा, किसानबोग, कलकत्तिया जस्ता ५ भन्दा बढी प्रजातिका आँपहरू प्रत्यक्ष किसानहरूमार्फत खरिद गर्न सकिनेछ। विशेष आकर्षणका रूपमा २० भन्दा बढी आँप समावेश गरिएका परिकार र पेय पदार्थहरू विभिन्न सहभागी रेस्टुरेन्टहरूमार्फत उपभोक्ताको स्वादमा प्रस्तुत गरिनेछन्।

फेस्टिभलमा आँपसँग सम्बन्धित रमाइला खेलहरू र सबै उमेर समूहका लागि इन्गेजिङ गतिविधिहरू पनि समावेश गरिनेछन्। विशेष म्याङ्गो मेनु, मौलिक रेसिपी र स्वादको विविधता प्रस्तुत गर्दै तीनवटै स्थानका रेस्टुरेन्टहरूले यो उत्सवलाई जीवन्त र भव्य बनाउन तयारी पूरा गरेका छन्।

नेपाल म्याङ्गो फेस्ट–२०२५ ले नेपाली आँपलाई राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने सम्भावनालाई समेत उजागर गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।