काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापन र जोखिम न्युनिकरणका लागि सरकार गम्भीर भएर लागिपरेको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभाअन्तर्गको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताएका हुन् ।
उनले २५ वर्षको अवधिमा देशका ८६ प्रतिशत घरधुरीले कुनै न कुनै प्रकृतिको विपद्को सामना गरिसकेको उल्लेख गर्दै नेपाल भौगोलिक हिसावले जोखिमयुक्त रहेको आधारमा सरकार काम गरिरहेको बताए ।
उनले विपद् व्यवस्थापनका लागि स्थानीय तहहरुलाई समेत थप सक्रिय बनाउन जरुरी रहेको बताए। गृहमन्त्री लेखककाअनुसार यस मनसुन अवधिभर कर्णाली प्रदेशको पूर्वी भाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशका धेरै क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको मौसम पूर्वानुमान विभागले जनाएको छ ।
गृहमन्त्री लेखकले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा समितिहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी पनि दिए । विपद् न्युनिकरणका लागि सूचना प्रणालीलाई प्रभावकारी बनाउनेतर्फ सरकार गम्भिर रूपले लागिरहेको उनको भनाइ ।
गत वर्षको असोजमा काठमाडौँमा उपत्यामा आएको बाढीको समयमा पूर्वसूचना प्रणालीले प्रभावकारी काम गर्न नसक्दा ठुलो धनजनको क्षति भएको स्वीकारे । यसपटक विपद् जोखिम न्युनिकरणका लागि टेलिकम प्रदायकहरुसँग समन्वय भइरहेको पनि बताए ।
काठमाडौँ उपत्यकामा विपदको पूर्वतयारी तथा जोखिम कम गर्न ‘जोइन्ट कमाण्ड पोस्ट’ स्थापना गरिएको समेत गृहमन्त्री लेखकले बताए ।
प्रतिक्रिया दिनुहोस्