काठमाडाँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि प्रणालीमा मल आपूर्तिको हाहाकार सधैं भइरहने स्पष्ट संकेत दिएका छन् ।
नेपाल डेरी एसाेसिएसनले आयोजना गरेको ‘दही चिउरा प्रवद्र्धन कार्यक्रम’मा बोल्दै मन्त्री अधिकारीले मल आपूर्तिको वर्तमान अवस्था, बजेट सीमितता र संरचनागत कमजोरीका कारण किसानले नियमित रूपमा मल अभाव झेल्नुपर्ने अवस्था कायम रहेको बताएका हुन् ।
उनले गत वर्ष कृषि मन्त्रालयको मल आपूर्ति लागि विनियोजन गरिएको २७ अर्ब ९५ करोड रुपैयाँ बजेटबाट पनि केबल साढे चार लाख टनभन्दा थोरै मल मात्र आपूर्ति भएको उल्लेख गरे । तर, देशभरको वास्तविक वार्षिक माग ११ लाखदेखि १३ लाख मेट्रिक टनको हाराहारीमा रहेको भन्दै यस्तो अवस्थामा बजारमा मल आपूर्ति गर्न सरकार पूर्ण रूपमा सक्षम नरहेको स्वीकार गरे ।
“हामीले २७ अर्ब ९५ करोडको बजेट पाएपनि केवल साढे चार लाख टन मल मात्र आयो,” मन्त्री अधिकारीले भने, “जबकि देशभरको माग त्यसको तीनगुणा छ । यस्तो अवस्थामा किसानलाई समयमा मल पुर्याउने सम्भावनै छैन । मलको हाहाकार हुन्छ, सधैं हुन्छ । मन्त्री जो भएपनि यो समस्या रहन्छ ।”
कृषि मन्त्रालयको नेतृत्व सम्हालेपछिको आफ्नो अनुभव सुनाउँदै उनले मुलुकको आर्थिक संकुचनले गर्दा धेरै योजना कागजमै सीमित भएको गुनासो गरे । उनले भने, “म मन्त्री भएपछि धेरै कुरा बदल्छु भन्ने लागेको थियो । रहर थियो । तर आर्थिक सिमितता, संरचनागत अपुगताले धेरै कुरा गर्न सकिएन ।”
कार्यक्रमको क्रममा उनले किसानसँगको सरकारको आर्थिक सम्बन्धको विडम्बनाप्रति समेत स्पष्ट रूपमा बोले । “हामी किसानको दूध वर्षौंदेखि खाइरहेका छौं, तर भुक्तानी गर्न सकेका छैनौं,” उनले भने, “हामीले पैसा तिर्न नसक्नु हाम्रो कमजोरी हो । तर पनि खुशी भएर सबैको अगाडि उभिनुपर्ने स्थिति छ ।”
उनले चिस्यान केन्द्र, कृषि बिमा जस्ता क्षेत्रमा पनि अनेक समस्या रहेको र ती समाधान गर्न गहिरो संस्थागत सुधार आवश्यक रहेको स्पष्ट पारे । “समस्या धेरै छन्, चिस्यान केन्द्र, बीमा सबै क्षेत्रमा कमजोरी छ,” उनले भने, “तर राज्यको जिम्मेवारी बोकेपछि चिन्ता नगर्नुहोस्, केही हुन्छ भन्ने नै भन्नुपर्छ ।”
प्रतिक्रिया दिनुहोस्