काठमाडौँ । सरकारले वायु प्रदूषण नियन्त्रण गर्न सवारी साधनसम्बन्धी नयाँ मापदण्ड लागू गरेको छ।
वन तथा वातावरण मन्त्रालयले ‘नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०८२’ औपचारिक रूपमा जारी गर्दै वातावरण संरक्षण ऐन, २०७६ को आधारमा यो मापदण्ड नेपाल राजपत्रमा प्रकाशित गरी तत्काल लागू गरिएको घोषणा गरेको हो। यससँगै २०६९ सालको पुरानो मापदण्ड खारेज गरिएको छ।
नयाँ मापदण्डले नेपालमा उत्पादन, एसेम्बल वा आयात गरिने दुई, तीन र चार पाङ्ग्रे सवारी साधनहरूमा अनिवार्य रूपमा प्रदूषण मापन गर्नुपर्ने व्यवस्था गरेको छ।
यसले सार्वजनिक र निजी दुवै किसिमका सवारी साधनलाई समेट्नेछ, तर पावर टिलर, डोजर, एक्साभेटर, रोलर जस्ता भारी निर्माण उपकरणहरू तथा रक्षा मन्त्रालयको सिफारिसमा ल्याइने विशेष सैन्य सवारी साधनलाई भने छुट दिइएको छ।
यस मापदण्डले सवारी साधनलाई तिनीहरूको इन्जिन क्षमताको आधारमा एल, एम र एन वर्गमा विभाजन गरेको छ। एल वर्गमा मोटरसाइकल, स्कुटर, तीन पाङ्ग्रे र हल्का चार पाङ्ग्रे सवारी पर्छन् भने एम वर्गमा यात्रुवाहक तथा एन वर्गमा मालवाहक सवारी साधन समावेश छन्। इन्जिन विस्थापन, अधिकतम गति, डिजाइन तौल आदिको आधारमा सवारी वर्गीकरण गरिने व्यवस्था गरिएको छ।
प्रदूषण परीक्षणका लागि सरकारको नयाँ मापदण्डले अन्तर्राष्ट्रियस्तरमा स्वीकार गरिएका यूराे-५ र यूराे-६ सरहका मापदण्डहरूलाई अपनाएको छ।
दुई र तीन पाङ्ग्रे तथा हल्का चार पाङ्ग्रे सवारी साधनका लागि यूराे-५ सरह र अन्य चार पाङ्ग्रे सवारी साधनका लागि यूराे-६ सरहको प्रदूषण परीक्षण गरिनेछ। युरोपेली संघकोले सिफारिस गरेका विधिहरूलाई मापदण्डमा स्पष्ट रूपमा समावेश गरिएको छ।
यसका अतिरिक्त, नयाँ मापदण्डले सवारी साधन सेवामा आउनुअघि विभिन्न प्रकारका परीक्षणहरू अनिवार्य गरेको छ। टाइप-आइबाट टाइप-भीआइसम्मका परीक्षणहरूमा ग्यासीय प्रदूषक, कणहरू, वाष्पिक उत्सर्जन, तापक्रम प्रभाव, उपकरणको टिकाउपन र ओनबोर्ड डाइग्नोस्टिक प्रणालीको परीक्षण समावेश छन्।
यी परीक्षणहरूले सवारीको प्रदूषण नियन्त्रण प्रणालीले तोकिएको समय र प्रयोग अवधिसम्म प्रभावकारीरूपमा काम गरिरहेको सुनिश्चित गर्नेछन्।
साथै, सबै सवारी साधनमा कार्बनडाइअक्साइड उत्सर्जन र इन्धन खपतको मापन पनि अनिवार्य गरिएको छ। भारी सवारीका लागि डब्लुएनटिइ परीक्षणमार्फत वास्तविक सडक प्रयोगका अवस्थामा समेत उत्सर्जन सीमा ननाघ्ने सुनिश्चित गरिने व्यवस्था गरिएको छ।
नयाँ मापदण्डले कार्बन मोनोअक्साइड, हाइड्रोकार्बन, नाइट्रोजन अक्साइड, कण पदार्थ, कण संख्या लगायतका प्रदूषकका सीमा तोकेको छ।
सवारीको वर्ग, तौल, इन्जिन प्रकार र परीक्षणको स्वरूपअनुसार यिनका लागि छुट्टाछुट्टै सीमा निर्धारण गरिएको छ। उदाहरणस्वरूप, २५ हजार किलोग्रामसम्मका चार पाङ्ग्रे सवारी साधनमा निष्काम गतिमा मोनोअक्साइडको अधिकतम सीमा ०.३ प्रतिशत तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्