नेपालको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा छः मन्त्री पाण्डे


काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपालको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको बताएका छन् ।

मंगलवार नेपाल एयरलाइन्सको ६७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेपाल आर्थिक रूपमा चुनौतिपूर्ण अवस्थाबाट गुज्रिरहेको बताएका हुन्। नेपाल एयरलाइन्सले पनि आर्थिक व्यवसायिक सफलता हात पार्न नसकेको बताए ।

दिन प्रतिदिन सुधार गर्न के गर्नुपर्छ भन्नेमा कर्मचारीहरूले ध्यान दिनुपर्ने बताए । निष्ठा र योग्यतापूर्वक काम गर्दा सफलता हात लाग्ने उनको भनाइ छ । यस वर्ष गत वर्षको भन्दा नाफामा गएको वा आयआर्जन बढाएको सार्वजनिक संस्थाको रूपमा राष्ट्रिय नाचघर मात्रै रहेको भन्दै नेपाल एयरलाइन्ससँग आफूले अबका दिनमा त्यही अपेक्षा राखेको बताए ।

मन्त्री पाण्डेले नेपालको नागरिक उड्डयन क्षेत्र राम्रोसँग चल्दा नेपालको पर्यटन क्षेत्रको विकास हुने बताए। पर्यटन क्षेत्र अघि नबढेसम्म नेपालको अर्थतन्त्र चलायमान हुन नसक्ने बताए । नेपालको अर्थतन्त्र र स्वरोजगारीलाई अघि बढाउने वा नबढाउने भन्ने मियो ठाउँमा नागरिक उड्डयन प्राधिकरण रहेको बताए ।