काठमाडाैँ । एनसेलले आम उपभोक्ताको सुविधाका लागि नयाँ मोबाइल नम्बर रेञ्ज ‘९७१’ बाट सुरू हुने सिम कार्ड वितरण गर्न लागिएको जनाएको छ। कम्पनीका अनुसार साउनको दोस्रो साताभित्रै नयाँ सिम वितरण सुरू गर्ने तयारी भइरहेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १४ गते एनसेललाई ९७१ नम्बर रेञ्ज प्रयोग गर्न अनुमति दिएको थियो। प्राधिकरणले यसअघि नै एनसेललाई ९८०, ९८१, ९८२, ९७० नम्बर रेञ्ज उपलब्ध गराएको भए पनि ती रेञ्जबाट प्रदान गर्न सकिने मोबाइल नम्बरहरू अपुग भएपछि नयाँ नम्बर रेञ्ज थप गरिएको हो।
प्राधिकरणको राष्ट्रिय नम्बरिङ् वितरण योजना अनुसार नयाँ नम्बर रेञ्ज जारी गरिएको हो। बढ्दो डिजिटल कारोबार, मोबाइल एप, वेबसाइटमा साइनअप, वान टाइम पासवर्ड लगायत सेवाका लागि मोबाइल नम्बरको प्रयोग अत्यधिक बढ्दै गएको सन्दर्भमा नयाँ नम्बर रेञ्जको खाँचो महसुस गरिएको हो।
एनसेलले विभिन्न सरकारी तथा गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सेवा प्रदायक कम्पनीहरूलाई यो नयाँ नम्बर रेञ्जलाई हाल प्रचलनमा रहेका अन्य रेञ्जसरह आफ्ना प्रणालीहरूमा इन्ट्रिगेट गर्न वा अपडेट गर्न अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस्