औषधि आपूर्तिसम्बन्धी गुनासो बढ्न थालेपछि संसदीय समितिद्वारा नेपाल औषधि लिमिटेडको अनुगमन


काठमाडाैँ । औषधि आपूर्तिसम्बन्धी गुनासो बढ्न थालेपछि  संसदीय समितिले नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गरेको छ ।

औषधि उत्पादनको अवस्था, लिमिटेडले भोगिरहेको समस्या तथा औषधि आपूर्ति लगायतको विषयमा अध्ययन र शोधपुछका लागि प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले लिमिटेको स्थलगत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा समिति सभापति अब्दुल खानले नेपाल औषधि लिमिटेडले देशभरलाई पुग्ने औषधि उत्पादन गर्नसक्ने भएपनि सरकारी कार्यालयहरुले नै औषधि खरिद नगर्दा समस्या भएको लिमिटेडले बताएको जानकारी दिए ।

आवश्यक कच्चा पदार्थ आयातमा समस्या, आर्थिक स्रोतको अभाव र सरकारी निकायबाट औषधि खरिदको व्यवस्था नहुँदा उत्पादन सीमित भएको र हाल ११ प्रकारका औषधि मात्र उत्पादन गरिरहेको जानकारी गराइएको उनको भनाइ छ ।

लिमिटेडमा पर्याप्त जनशक्ति, प्रविधि र पूर्वाधार हुँदाहुँदै पनि नीतिगत समस्या तथा सरकारको उपेक्षाको कारण समस्या भएको बताइएको छ । 

“जनताले प्रत्यक्ष रूपमा हामीले औषधि पाइरहेका छैनौं भनेर समितिमा उजुरी गरिसकेपछि हामी नेपाल सरकारको स्वामित्वमा रहेको संस्थाले किन औषधि आपुर्ति गर्न सकिरहेको छैन भनेर अनगुमनमा आएका हौँ । अर्को कुरा, हामी लिमिटेडको समस्याको बारेमा जान्नको लागि पनि यहाँ अनुगमनमा आएका हौँ । हामीले औषधि लिमिटेडले भोगिरहेको समस्याको बारेमा पनि जानकारी लिन अनुगमनमा आएका हौँ,”उनले भने ।

औषधि लिमिटेडको समस्याको बारेमा समितिमा छलफल गरेर सरकारलाई आवश्यक सुझाव दिने उनको भनाइ छ ।