काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने र गृहमन्त्रीको राजीनामा अपरिहार्य भएको स्पष्ट पारेको छ। आज बसेको पार्टी सचिवालय बैठकले उक्त प्रकरणमा पार्टीले अघि सारेको अडान कायम राख्दै संसदमा भइरहेको प्रतिरोधलाई निरन्तरता दिने निर्णय गरेको हो।
बैठकमा संघीय निजामती सेवा विधेयक संसदको राज्य व्यवस्था समितिबाट पारित भई प्रतिनिधिसभामा प्रस्तुत हुँदा कलिङ अफ पिरियडको व्यवस्थामा गरिएको बदमासीपूर्ण हेरफेर संविधानको मर्म र संसद्को सार्वभौमिकतामाथिको आक्रमण भएको निष्कर्ष निकालिएको छ। रास्वपाले विधायन प्रक्रियामा भएको यस्तो गम्भीर अनियमितता निष्पक्ष छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।
पार्टीले आगामी कात्तिक २७ गते हुने रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि योग्य उम्मेदवार चयन गर्नका लागि छलफल गर्दै उम्मेदवार छनोट कार्यविधिमा प्राप्त सुझावहरू समेटेर आगामी सचिवालय बैठकमा अनुमोदनका लागि पेस गर्ने निर्णय पनि गरेको छ। पार्टीले नागरिकको चाहना अनुसार सक्षम उम्मेदवार प्रस्तुत गर्ने प्रतिबद्धता जनाएको छ।
साथै, बैठकले केन्द्रीय विभागहरूलाई सक्रिय बनाउन कार्यसम्पादन प्रतिवेदन श्रावण ७ भित्र पेस गर्न निर्देशन दिँदै विभागीय रिक्तताहरू पूर्तिका लागि विभाग प्रमुखहरूलाई जिम्मेवारी तोकेको छ। वडास्तरमा ५० प्रतिशत वा ३० प्रतिशत मात्र अधिवेशन सम्पन्न भएका पालिकामा पनि पालिका अधिवेशन गर्न सकिने निर्णय गर्दै संगठन विस्तारको प्रक्रियालाई लचिलो बनाइएको छ।
यसैगरी, केन्द्रीय संगठन विभागको सिफारिसमा प्रमीला भुसाल (चितवन), सुशील अधिकारी (दाङ) र मानकुमार लामा (चितवन) लाई केन्द्रीय संगठन विभागका सदस्यमा मनोनीत गरिएको छ।
प्रतिक्रिया दिनुहोस्