काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकार यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउने दिशामा गम्भीर रहेको बताएका छन्। उनले नीतिगत सुधारदेखि कार्यान्वयनसम्मको चरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट गरे।
चन्द्रागिरी नगरपालिका–७ मा नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले निर्माण गरेको भवनको उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री दाहालले अब सवारी साधनहरूलाई तोकिएको भार बहन क्षमताअनुसार मात्र सञ्चालन गर्न दिइने बताएका हुन्। उनले नेपाली सडक तथा संरचनाको दिगो संरक्षणका लागि सवारी साधनमा भार बहन क्षमता कडाइका साथ लागू गर्नुपर्ने आवश्यकता औंल्याए।
“हाम्रा सडक र पुलहरूको अवस्थालाई ध्यानमा राख्दै संरचना निर्माण गरिएको हो,” मन्त्री दाहालले भने, “यस्ता संरचनामा मनपरी ढंगले बढी भार बोकेर सञ्चालन गरिने सवारी साधनहरूले विनाश ल्याउँछन्, त्यसैले अब सीमा क्षेत्रदेखि नै नियन्त्रण गरिनेछ।”
उनले संरचनाको संरक्षण सामूहिक जिम्मेवारी भएको भन्दै सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिए। यातायातसँग सम्बन्धित कानुनहरू संशोधन कार्य मन्त्रालयको प्राथमिकतामा रहेको उल्लेख गर्दै व्यवसायीहरूले उठाएका जायज मागहरूलाई सम्बोधन गर्न सरकार सकारात्मक रहेको उनले स्पष्ट पारे।
मन्त्री दाहालले नेपाल अहिले निर्माणको चरणमा रहेको उल्लेख गर्दै केही नहुने भन्ने भ्रम चिर्न एशियन मापदण्डमा निर्माण भइरहेको पूर्व–पश्चिम, हुलाकी, मदन भण्डारी र मध्यपहाडी राजमार्गहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताए। त्यस्तै, उत्तर–दक्षिण करिडोरमार्फत नेपाल–भारत–चीन सँगको पहुँच बलियो हुँदै गएको धारणा उनले व्यक्त गरे।
“हामीले सडक र पुल त बनायौं, तर त्यो अन्तिम लक्ष्य होइन,” मन्त्री दाहालले भने, “अब तिनै संरचनामार्फत उत्पादन वृद्धिमा ध्यान दिनुपर्छ। शहर र गाउँको दूरी कम भएकाले गाउँमै उद्यमशीलता बढाउन सकिने वातावरण बनिसकेको छ। गाउँमा उत्पादित कृषि तथा अन्य वस्तुहरूलाई बजारमा पु(याएर समृद्धि तर्फ अगाडि बढ्नुपर्ने बेला आएको छ।”
उनले यातायात क्षेत्रलाई सुरक्षित बनाउनेतर्फ पनि मन्त्रालयले ध्यान दिएको जानकारी गराए।
प्रतिक्रिया दिनुहोस्