भिजिट भिसा प्रकरणमा संसदीय छानविन समिति गठन नगरेसम्म आन्दोलन जारी रहनेछः सांसद सिंह


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानविन समिति गठन नगरेसम्म पार्टीको आन्दोलन जारी रहने बताएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद सिंहले भिजिट भिसा दुरुपयोग प्रकरणको छानविनका लागि संसदीय छानविन समिति गठन नभएसम्म राप्रपाले संसद बहिस्कार गर्ने बताएका हुन् । उनले सरकारले दुई तिहाईको आडमा सदन चलाउन खोजिएको भन्दै आपत्ति पनि जनाए ।

“आज सदन अवरोध भएको ४१ दिनभन्दा बढी भइसकेको छ । यसरी दुई तिहाईको दम्भबाट सदन चलाउनु भएन भन्ने राप्रपाको माग छ । भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री देखि तल्लो तहको कर्मचारी मुछिएको छ,” उनले भने ।

सांसद सिंहले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहका कर्मचारी समेत संलग्न रहेको आरोप समेत लगाए ।