चार अस्पताललाई क्यान्सरसम्बन्धी औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण, बिरामीलाई निःशुल्क उपलब्ध गराइने


काठमाडौं । क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।

अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था डाइरेक्ट रिलिफको सहयोग र वान हार्ट वल्र्डवाइडको समन्वयमा क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरु मन्त्रालयलाई हस्तान्तरण गरिएको हो । मन्त्रालयले आईतबार नै क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरु (विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, सुशील कोईराला प्रखर क्यान्सर अस्पताल बाँके र वीर अस्पताल काठमाडौं)लाई हस्तान्तरण समेत गरेको छ ।

औषधिहरु असार २७ गते शुक्रवार नेपाल आइपुगेका थिए । सोही दिन स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले भण्डारण गरेको थियो । औषधि तथा सामग्रीहरु हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा क्यान्सरका धेरै समस्याहरु रहेको र औषधि पनि महंगो रहेको बताए । औषधिमा राज्यको कुनै लगानी नरहेको र राज्यको लगानी बिनै नागरिकलाई केही राहत दिनका लागि सरकारले प्रयास गरेको मन्त्री पौडेको भनाइ थियो ।

“क्यान्सरका धेरै समस्याहरु छन् । औषधि महंगो छ । उपलब्ध हुँदैन, विपन्न नागरिकलाई यो कठिन छ । त्यसैले हामीले क्यान्सरको उपचार हुने खासगरी भक्तपुर क्यान्सर अस्पताल, विपी कोईराला क्यान्सर अस्पताल, सुशील कोईराला क्यान्सर अस्पताल, वीर अस्पताल, टिचिङ अस्पताल मुख्य गरी यिनै हुन्,” मन्त्री पौडेलले भने, “यि अस्पतालहरुमा हाम्रो स्वास्थ्य सेवा विभागमार्फत हामीले यो औषधि उपलब्ध गराउनेछौँ । यसले धेरै नागरिकलाई राहत पुर्‍याउनेछ भन्ने हाम्रो विश्वास छ । राज्यको कति पनि लगानी भएको छैन । राज्यको लगानी बिनै नागरिकलाई केही राहत पुर्‍याउने कोशिस गरेका छौँ ।’