काठमाडौँ । विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट’ कार्यक्रम आयोजना गरेको छ।
ड्राइभर पार्टनरहरूसँगको सहकार्यलाई सुदृढ पार्ने उद्देश्यसहित आयोजित यस कार्यक्रममा कम्पनीले चालकहरूको मेहनत, समर्पण र अनुभवप्रति कृतज्ञता व्यक्त गर्दै सौहार्दपूर्ण वातावरणमा भव्य रूपमा सम्पन्न गरेको हो।
कार्यक्रममा इनड्राइभको एपीएसी क्षेत्रका ड्राइभर अपरेशन्स प्रमुख निकोलाईसहित कम्पनीका प्रतिनिधि र स्थानीय चालकहरूबिच प्रत्यक्ष संवाद, अनुभव साझेदारी तथा खुला छलफल भएको थियो।
इनड्राइभको नेतृत्व टोलीसँग प्रश्नोत्तर सत्र, उत्कृष्ट प्रदर्शन गर्ने चालकहरूको सम्मान तथा ड्राइभरहरूको समर्थन प्रणाली सुधार गर्न सुझाव संकलन कार्यक्रमका प्रमुख आकर्षणहरू बनेका थिए ।
निकोलाईले भने, “ड्राइभर पार्टनरहरू नै हाम्रो यात्राको मेरुदण्ड हुन्। यो भेटघाट कार्यक्रम उनीहरूको अनुभव, चासो र चुनौतीहरू बुझ्न तथा पारस्परिक सिकाइको अवसर सिर्जना गर्न आयोजना गरिएको हो।” उनले इनड्राइभलाई ‘पिपुल–फर्स्ट’ प्लेटफर्म बनाउने प्रतिबद्धता पुनः दोहोर्याउँदै छनोटको स्वतन्त्रता, पारदर्शिता र निष्पक्षता कम्पनीका मूल मूल्य भएको बताए।
कार्यक्रममा कम्पनीले आगामी दिनमा ड्राइभरहरूको अनुभव अझ सुदृढ बनाउन ल्याइने नयाँ सेवा र सुविधाहरूको घोषणासमेत गरेको छ। टेक्नोलोजी र नवप्रवर्तनमार्फत चालकहरूलाई सुरक्षित, सहज र लाभदायक यात्रा वातावरण प्रदान गर्ने इनड्राइभको योजना कार्यक्रममा सार्वजनिक गरिएको थियो।
सहभागी चालकहरूले कार्यक्रममा आफ्ना अनुभव तथा सुझावहरू प्रस्तुत गर्दै यस्तो संवादमूलक पहलले कम्पनीप्रति विश्वास बढेको प्रतिक्रिया दिएका थिए।
प्रतिक्रिया दिनुहोस्