बैंकिङ क्षेत्र सुधारको लागि गठित कार्यदलले बुझायो प्रतिवेदन


काठमाडाैँ । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको समग्र सुधार तथा सुदृढीकरणका लागि गठन गरेको कार्यदलले गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई अन्तिम प्रतिवेदन बुझाएको छ।

डा. रेवतबहादुर काकीको संयोजकत्वमा गठित उक्त कार्यदलमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दहाल सदस्य रहेका थिए भने नेपाल राष्ट्र बैंक अन्तर्गत बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सदस्य सचिवको भूमिकामा रहेका थिए।

यसअघि कार्यदलले प्रारम्भिक प्रतिवेदन असार २४ गते गभर्नरसमक्ष बुझाएको थियो भने अन्तिम प्रतिवेदन आज बुझाइएको हो। कार्यदलले बैंकिङ क्षेत्रको संरचनागत सुधार, नियमन तथा सुपरिवेक्षण प्रणालीको सबलीकरण, वित्तीय पहुँच र स्थायित्व अभिवृद्धि लगायतका विषयमा सुझावहरू प्रतिवेदनमार्फत प्रस्तुत गरेको बताइएको छ।

राष्ट्र बैंकले प्राप्त सुझावहरूको समुचित विश्लेषणपछि आवश्यक नीतिगत निर्णय लिने जनाएको छ। बैंकिङ प्रणालीमा देखिएको विश्वासको पुनःस्थापना र दीर्घकालीन स्थायित्वका लागि कार्यदलको प्रतिवेदन मार्गदर्शक हुने अपेक्षा गरिएको छ।