ससीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेसन सञ्चालनमा


काठमाडाैँ । नेपालको विद्युतीय सवारी साधन (इभी) क्षेत्रलाई थप मजबुत बनाउने लक्ष्यसहित ससीला मोटर्स प्रा.लि.ले बुटवलको तिलोत्तमा–३, ड्राइभर टोलमा निर्माण गरेको चार्जिङ स्टेसन औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

एकैपटक १४ वटा गाडी चार्ज गर्न सकिने क्षमता रहेको यो स्टेशन हालसम्म नेपालको सबैभन्दा ठूलो चार्जिङ पूर्वाधार हो ।
१००० केभिए क्षमताको यो चार्जिङ स्टेशनको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले उद्घाटन गरेका हुन् ।

चार्जिङ स्टेसनको उद्घाटन गर्दै खाँणले विद्युतीय सवारी साधनको प्रयोग र त्यसको प्रवर्धन सहयोग पुग्ने कार्य हुनु सह्रानीय रहेको र विद्युतीय सवारी साधनहरू समयको आवश्यकता भएको बताए । यस्ता पूर्वाधार विकासले देशलाई हरित यातायाततर्फ लैजाने विश्वास ब्यक्त गर्दै उनले बुटवलमा यति ठूलो चार्जिङ स्टेसन निर्माण हुनु सबैको लागि गौरवको विषय भएको र निजी क्षेत्रको यस्तो लगानीले देशको दिगो विकासमा महत्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा ससीला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधनहरूको प्रयोग उल्लेख्य रूपमा बढे पनि सो अनुपातमा चार्जिङ सुविधा उपलब्ध नभएको भन्दै त्यही समस्या समाधानको लागि आफूहरूले पहल गरेको बताए ।

उपभोक्तालाई भरपर्दो, द्रुत र सुरक्षित चार्जिङ सेवा दिन आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ छ । खतिवडाले भने, “यो चार्जिङ स्टेसन हामीले केवल व्यवसायिक सोच र उपभोक्ताको हितका लागि मात्रै हैन, वातावरणीय उत्तरदायित्वका दृष्टिकोणले पनि स्थापना गरेका हौं ।” उनले इभी क्षेत्रमा दीर्घकालीन लगानी र विस्तारको योजना बनिरहेको र निकट भविश्यमै देशका अन्य भागमा पनि यस्तै चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याउने जानकारी दिए ।

कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. का अध्यक्ष दधिराम खरेलले इभी सवारीलाई सफलतापूर्वक सञ्चालन गर्न चार्जिङ स्टेसन र वर्कशप अनिवार्य रहेको भन्दै आफ्नो संस्थाको निरन्तर आग्रहमा ससीला मोटर्सले यो परियोजनामा कार्यान्वयन गरेको बताए ।

यस चार्जिङ स्टेसनमार्फत इलेक्ट्रिक बस, कार, भ्यान लगायत सबै प्रकारका इभीहरूले द्रुत, भरपर्दो र प्राविधिक रूपमा सुरक्षित सेवा पाउनेछन् ।