अनौपचारिक क्षेत्र औपचारिकीकरण भएपछि प्रतिष्पर्धा बढ्छः अध्यक्ष ढकाल


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औपचारिकीकरणले व्यवसायलाई कानूनी सुरक्षा, वित्तीय पहुँच, श्रम अधिकार प्रदान गर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अनौपचारिक क्षेत्रहरु औपचारिक नबन्दासम्म उत्पादकत्व वृद्धि, राजश्व संकलन, लगानीमैत्री वातावरण बन्न कठिन हुने बताए । अहिले पनि मुलुकमा अनौपचारिक क्षेत्रकाे ठूलो हिस्सा रहेकाले औपचारिकीकरण नभएसम्म अर्थतन्त्र विस्तार हुन नसक्ने धारणा राखे ।

अध्यक्ष ढकालले अहिले पनि व्यवसाय दर्ता जटिल रहेको, करका बारेमा समेत अन्योलता रहेको र औपचारिक क्षेत्रलाई सरकारले नियमनको नाममा केही दुःख दिँदा अनौपचारिक क्षेत्र औपचारिक हुन डराइरहेको बताए । यसमा राज्यले गम्भीतापूर्वक सोच्न जरुरी रहेको उनकाे भनाइ छ। 

“केही समय अघि हामीले आयात प्रतिस्थापनको कुरा ग¥यौं । तर बोर्डरमा फर्मल भन्दा पनि इनफर्मली धेरै आयात भएका कारण प्रतिष्पर्धामा जाने वातावरण भएन,”उनले भने “मोटरसाइकल र गाडीहरु बाहेक अरु सबै चिज सबै नेपालमा आयो, तर त्यसले फर्मल किसिमको व्यवसायी वातावरणलाई निरुत्साहित बनायो । त्यसैले हरेक क्षेत्रलाई सिस्टममा ल्याउनुपर्छ ।”

व्यवसायको औपचारिकीकरण अब विकल्प नभइ आवश्यकता भएकाे उनले बताए । अध्यक्ष ढकालले पछिल्लो समय सरकारले निजी क्षेत्रका कुरा सुनेर पोलिसीहरु बनाउन थालेको बताए । अध्यक्ष ढकालले सरकारले आहिले गरेको नीतिगत सुधारले मुलुकमा लगानीको वातावरण बन्दै गएको र यसले मुलुकभित्र लगानी वृद्धि गर्न सघाउ पुग्ने बताए ।