बाँकेको सीमानाका जमुनाहामा १७ असारमा भारत जाँदै गरेको खाली कन्टेनर चेकजाँच गर्दा फल्स बटन बनाएर अवैध रूपमा लैजाँदै गरेको ६ हजार ८७ किलो ग्राम पोस्ता दाना (अफिमको बियाँ) बरामद भयो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसूूधन न्यौपानेका अनुसार बिहान ९ः३० बजेतिर भारतीय आरजे ० नौजीबी ४५४२ नं. को कन्टेनरमा २५ किलोका २४० बोरा र सात बोरा आधा भरिएको पोस्ता दाना बरामद गरियो ।
बाँके प्रहरीले प्रतिकिलोको एक हजार ६३० मूूल्य कायम गरी बरामद गरिएको पोस्ता दानाको मूल्य ९९ लाख २१ हजार ८१० रुपैयाँ बराबरको रहेको जनाएको छ । चेकजाँच गर्ने क्रममा कन्टेनरका चालक र सहचालक फरार भए । पोस्ता दाना र कन्टेनर प्रहरीले नेपालगन्ज भन्सार कार्यालयलाई हस्तान्तरण गरेको छ । भारतीय कन्टेनरमा फल्स बटन बनाएर पोस्ता दाना भेटिएपछि नेपालमा सामान आयात गर्ने कन्टेनरबाट चोरी पैठारी हुने गरेको रहस्य खुलेको छ ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख अर्जुनकुमार न्यौपानेले पोस्ता दाना उम्रिने वा नउम्रिनेबारे नेपालगन्जको प्रयोगशालाबाट पत्ता लाग्न नसकेपछि वनस्पति विभाग काठमाडौंमा पठाइएको बताए । उनले भने, “कन्टेनरका मालिक र चालकलाई पत्राचार गरेर कारबाही प्रक्रिया अघि बढाइएको छ ।”
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका आयात निर्यात महाशाखा निर्देशक भेषबहादुर कुँवरका अनुसार चालूू आर्थिक वर्षमा पोस्ता दानाको आयात गर्न पाउने गरी कसैलाई पनि अनुमति दिइएको छैन । आव २०७७/०७८ मा एक पटकका लागि दुई हजार मेट्रिक टन पोस्ता दाना आयात गर्न विभिन्न कम्पनीलाई अनुमति दिइएको थियो । “चालू आर्थिक वर्षमा कसैलाई पनि अनुमति दिइएको छैन । अब दिने सम्भावना पनि छैैन । यस्तो कोटा निर्धारण मन्त्रीस्तरीय निर्णयबाट हरेक वर्ष दिने व्यवस्था छ । प्रत्येक वर्ष अलग अलग अनुुमति लिनुपर्छ ।”
आर्थिक वर्ष सकिँदा पनि कसैले आयातको अनुमति नपाउनु तर ठूलो परिणाममा पोस्ता दाना बरामद हुुनु थप रहस्यमय बनेको छ । यति ठूलो परिणाममा पोस्ता दाना चोरी बाटोबाट कसरी भारत निर्यात भयो त ? टक्सारले सीमावर्ती भन्सार कार्यालयमा सोधी–खोजी ग-यो । युरोपेली मुलुक टर्कीबाट आउने पोस्ता दाना वीरगन्जबाट आउने कुरा पत्ता लाग्यो । वीरगन्ज भन्सार कार्यालयका उपसचिव दिलिप केसीले सिर्सिया सुख्खा बन्दरगाहबाट मात्र आयात हुने गरेको जानकारी दिए । सुख्खा बन्दरगाहका सूचना अधिकारीदेखि विभिन्न शाखाका कर्मचारीसँग सूूचना मागेको तीन दिनपछि टक्सारलाई सूचना उपलब्ध भयो।
नेपाल सरकारले अघिल्लो आर्थिक वर्षका लागि अनुमति दिएको पोस्ता दानामध्ये अहिलेसम्म पाँचवटा व्यापारिक प्रतिष्ठानले एक हजार ३६२ मेट्रिक टन आयात गरेका छन् । मिठाइमा प्रयोग गर्ने प्रयोजनले आयात गरिएको यति ठूलो परिणामको पोस्ता दाना कहाँ गयो भन्नेबारे सम्बन्धित निकायले खोजेको देखिँदैन । चालू आर्थिक वर्षमा आयातको अनुमति नभए पनि जेठको मध्यमा १८ सय किलो पोस्ता दाना आयात भएको छ । जसको मूल्य ५२ करोड ८८ लाख ४० हजार रुपैयाँ रहेको छ । अनुमति नै नपाएर कसरी आयात भयो त ?
सिर्सिया सुख्खा बन्दरगाहका भन्सार अधिकृत बलराम भण्डारीले विराटनगर उच्च अदालतको आदेशअनुसार व्यावसायीले चालू आर्थिक वर्षभित्र आयात गर्न पाउने गरी भएकोे आदेशका आधारमा पोस्ता दाना ल्याएको बताए । उनले भने, “चालू आर्थिक वर्षमा पोस्ता दाना ल्याउन पाउने कसैले पनि अनुमति पाएका छैनन् । अघिल्लो आर्थिक वर्षको कोेटामा बाँकी रहेको पोस्ता दाना आयात गर्न अदालतले आदेशका आधारमा ल्याएका हुन् । चालू आर्थिक वर्षभित्रै आयात गरिसक्नुपर्ने अदालतको आदेश छ । यो अवधिमा बाँकी रह्यो भने आगामी आर्थिक वर्षमा आयात गर्न पाइँदैन ।” पोस्ता दाना आयात गर्दा १० प्रतिशत भन्सार, १५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याट तिर्नुपर्छ ।
भारतले पोस्ता दाना आयातमा प्रतिबन्ध लगाएकाले पनि नेपालबाट भारत तस्करी हुने गरेको पाइएको छ । यसअघि पटक–पटक भारतले नेपाल आयात गर्न लागेको पोस्ता दानालाई रोकेको छ । भारतले २०५० सालमा नेपाली व्यवसायीले ल्याएको १५ करोड बराबरको पोस्ता दानालाई नेपाल छिर्न दिएन । त्यो पोस्तादाना कोलकाता बन्दरगाहमै सडेको थियो । नेपाली व्यवसायीले कोलकाता हाई कोर्टमा मुद्दा लडेर जिते पनि बन्दरगाहले पोस्ता दाना छाडेन । २०५५ सालमा फेरि करिब पाँच करोड बराबरको पोस्ता कोलकाताबाट नेपाल आउन भारतले दिएन । यसपछि २०६६ सालमा विराटनगरका शंकरलाल अग्रवालले ल्याएको सात करोड बराबरको पोस्ता दाना पनि भारतले नेपाल छिर्न दिएको थिएन । त्यसयता पोस्ता दाना नेपाल आयात भएको थिएन ।
ओली सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आर्थिक चलखेल गरेर नेपालमा प्रतिबन्धित पोस्ता दाना विदेशबाट आयात गर्न दुुई हजार मेट्रिक टन कोटा निर्धारण गरेका थिए । त्यसअघि लामो समयदेखि पोस्ता दाना आयातमा प्रतिबन्ध थियो । पोस्ता दाना भनेको अफिमको बिरुवामा लाग्ने दाना (बियाँ) हो । अफिम लागू औषध भए पनि दानामा लागूऔषधको मात्रा हुँदैन । यसको प्रयोग मसलाको रूपमा गरिन्छ । प्रायः होटल, विवाह आदिमा गरिने भोजमा पकाइने तरकारी (करी आइटम) मा प्रयोग गरिने झोल पदार्थ (ग्रेभी) बनाउँदा मुख्यतयाः पोस्ता दानाको प्रयोग गरिन्छ । मिठाइमा यसको प्रयोग बढी हुन्छ ।
संयुक्त राष्ट्र संघको अफिस अन ड्रग एन्ड क्राइमअन्तर्गत नार्काेटिक्स कन्ट्रोल बोर्डको स्वीकृति लिएर मात्र यस्तो बीउ (सिड) आयात गर्न पाइन्छ । तर, नेपालका उम्रिने खालको पोस्ता दाना भित्रिएको छ । यसरी भित्रिएको पाेस्ता दानाले अफिम उत्पादन गर्ने देखिए पनि सम्बन्धित निकायले चासो नदिँदा तस्करीमात्र होइन प्रतिबन्धित लागूऔषध अफिम खेती प्रवद्र्धन हुने खतरा देखिएको छ ।
कोटा प्रणालीबाट पाँच वस्तुको आयात
सरकारले औद्योगिक प्रयोजनका लागि भन्दै उद्योग विभागको सिफारिसमा सम्बन्धित उद्योगले आफैं आयात गर्न सक्ने व्यवस्था गरी कोटा निर्धारण गरेर तेस्रो मुलुकबाट केही वस्तुको आयात गर्छ । कहिले बन्द गर्छ । ती वस्तुको नेपालमा माग र खपतभन्दा पनि भारतमा तस्करी हुन्छ । नेपालमा भन्दा भारतमा दोब्बर तेब्बर मूल्य बढी भएकाले तस्करी हुने गरेको छ । बेलाबेलामा सीमा क्षेत्रमा तस्करीको सामान प्रहरीले नियन्त्रणमा लिएको खबरहरू सार्वजनिक हुन्छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार निम्न वस्तु कोटाबाट आयात गरिन्छः
सुपारी
नेपालमा वार्षिक २५ हजार मेट्रिक टन सुपारी तेस्रो मुलुकबाट आयात हुन्छ । चालू आवको नौ महिनामा मात्र इन्डोनेसियाबाट दुुई अर्ब ४२ करोड ४३ लाख रुपैयाँको सुपारी नेपाल भित्रिएको छ । यसको परिमाण भनेको एक करोड २० लाख ३६ हजार ९५५ किलो हो । चैतसम्म कुल आयात १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख रुपैयाँबराबरको भएको छ । विभागको तथ्यांकअनुसार नौ महिनामा सिंगो सुपारी र सुर्तीबिनाको सुगन्धित सुपारी गरी ६ लाख ५० हजार किलो २६ करोड २० लाख २७ हजार रुपैयाँको निर्यात भएको छ । सो वस्तु अत्यधिक रूपमा भारत र थोरै जापानमा पठाइएको छ ।
केराउ
नेपालमा भारत, चीन, अस्ट्रेलिया, क्यानडा, अमेरिका, युक्रेन, अर्जेन्टिना, फ्रान्स, रसिया, थाइल्यान्ड, टर्की, यूूएई, चीन, डेनमार्क, इन्डोनेसिया, इटाली, मलेसिया, मोजाम्विक्वी, म्यानमार, कतार, सिंगापुरलगायत विश्वका २५ देशबाट वार्षिक ८० हजार मेट्रिक टन केराउ आयात हुँदै आएको छ । आयात मुलुक बढेसँगै केराउको आयातमा पनि दोब्बर हुँदै बढेको छ । धेरैजसो भारत, अस्ट्रेलिया, क्यानडा, अमेरिका, युक्रेनबाट आयात भएको छ । सुख्खा (ड्राइ) केराउ एक अर्ब ४३ करोड ३७ लाख ८८ हजार ७४८ रुपैयाँको आयात भएको छ । केराउको पनि भारतमा तस्करी हुने गरेको छ ।
मरिच
नेपालमा तेस्रो मुलुकबाट वार्षिक १५ हजार मेट्रिक टन आयात गर्ने कोटा छ । सुख्खा बन्दरगाह र वीरगन्ज भन्सार भएर भियतनाम, श्रीलंका, इन्डोनेसिया, ब्राजिल, साउदी अरेबिया, थाइल्यान्ड, मलेसिया र अमेरिकाबाट मरिच आयात हुन्छ । सबैभन्दा बढी भियतनामबाट मरिच आउँछ । आयातित मरिचको भाउ भारतीय मरिचको तुलनामा प्रतिकिलो तीनदेखि चार सय रुपैयाँँ कम पर्न थालेपछि भारततर्फको अवैध निर्यात पनि बढेको हो । नेपालमा तेस्रो मुलुकबाट आयात हुने मरिच बजारमा प्रतिकिलो साढे सात सयदेखि आठ सय रुपैयाँँको भाउमा उपलब्ध छ । त्यही मरिच सीमापारी भारतमा एक हजारदेखि एक हजार दुई सय रुपैयाँ (नेपाली) प्रतिकिलोको भाउमा किनबेच भइरहेको छ । एक क्विन्टल मरिच वारीबाट पारी पु-याउँदा ३० देखि ४० हजार रुपैयाँ नाफा आउने भएकाले तस्करी बढेको हो
छोकडा
नेपालमा वार्षिक पाँच हजार मेट्रिक टन छोकडा आयात गर्न पाउने कोटा छ । मलेसिया तथा सिंगापुरबाट छोकडा आयात गरिन्छ । तेस्रो देशबाट आयातित सामग्री पुनः निकासी गर्न नपाइने कानुनी प्रावधान छ । तेस्रो मुलुकबाट आयातित छोकडा अधिकांश पर्साहुँदै भारतमा तस्करी हुने गरेको छ । अन्य नाकाबाट पनि भारतमा तस्करी हुुन्छ ।
पोस्ता दाना
नेपाल सरकारले २०७७/०७८ मा दुुई हजार मेट्रिक टनको कोटा तोकेर पोस्ता दाना नेपालमा आयात गर्न विभिन्न कम्पनीलाई अनुमति दिएको थियो । मसलाको रूपमा प्रयोग हुने पोस्ता दानाको माग नेपालमा भन्दा भारतमा बढी छ । नेपालमा भन्दा भारतमा तेब्बर बढी मूल्यमा बिक्री हुने भएकाले तस्करी बढेको छ।
(टक्सार म्यागजिन, साउन २०७९, पृष्ठ ६–८)
प्रतिक्रिया दिनुहोस्