राष्ट्रिय परिचयपत्र सेवा आंशिक रूपमा अवरूद्ध, मर्मत कार्य जारी


काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार र क्षमता विस्तारको काम भइरहेकाले सेवा आंशिक रूपमा अवरूद्ध भएको सूचना जारी गरेको छ। विभागका अनुसार मर्मत कार्य सकिएपछि सेवा पुनः सुचारू गरिनेछ।

यस अवधिमा राष्ट्रिय परिचयपत्र सम्बन्धी धेरै सेवा प्रभावित हुने विभागले जनाएकाे छ। अनलाइन मार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र कार्ड वितरण सेवा, विवरण सच्याउने सेवा, जन्म दर्ताका क्रममा राष्ट्रिय परिचय नम्बर जारी गर्ने सेवा, साथै सामाजिक सुरक्षा भत्ता लाभार्थीहरूको नाम दर्ता तथा नवीकरण प्रक्रियामा र जैविक विवरण प्रमाणीकरणसम्बन्धी सेवा आंशिक रूपमा अवरूद्ध रहनेछ। त्यस्तै राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग जोडिएका अन्य सार्वजनिक सेवा पनि प्रभावित हुने विभागले जनाएको छ।

तर विभागले राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र वितरण कार्य अफलाइन मार्फत् गर्न सकिने व्यवस्था मिलाएको छ। यसकारण सेवाग्राहीहरूले आफनो नजिकको राष्ट्रिय परिचयपत्र सेवा इकाईमा सम्पर्क गरी अफलाइन माध्यमबाट काम गर्न सक्नेछन्। साथै अफलाइन दर्ता गरिएका विवरणहरू अनलाइन सेवा पुनः सुरु भएपछि एसएमएस मार्फत राष्ट्रिय परिचय नम्बर प्राप्त हुने जानकारी पनि दिइएको छ।