अविरल वर्षा र बाढीले देशभरका ५ राजमार्ग पूर्ण अवरुद्ध, ५ ठाउँमा एकतर्फी सञ्चालन


काठमाडौँ । अविरल वर्षाका कारण देशभरका केही प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार साउन ६ गते बिहान ९ः०० बजेसम्म काठमाडौँ उपत्यकासहित कोशी, बागमती, गण्डकी, लुम्बिनी, र कर्णाली प्रदेशका विभिन्न स्थानका सडकहरूमा सवारी आवागमनमा अवरोध भएको हो।

काठमाडौन् उपत्यकामा टोखा नगरपालिका वडा नम्बर २ स्थित काठमाडौँ–नुवाकोट सडकखण्डमा पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

कोशी प्रदेशको संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा नम्बर ८ बरुण क्षेत्रमा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै, पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नम्बर ४ र हिलिहाङ गाउँपालिका वडा नम्बर ७ को संगमस्थल हेवाखोलामा मेवि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पाँचथरकै तुम्बेवा गाउँपालिका वडा नम्बर २ मा पर्ने तमोर–कोरिडोर सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेको छ।

बागमती प्रदेशको रसुवास्थित गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६ वल्डाँडामा पासाङ ल्हामु सडक खण्ड अवरुद्ध बनेको छ। यता, गण्डकी प्रदेशअन्तर्गत बागलुङ नगरपालिका वडा नम्बर १० दर्ल्याङ र नवलपुरको गैडाकोट नगरपालिका वडा नम्बर ३ तरसखोलामा कालिगण्डकी करिडोर सडक एकतर्फी सञ्चालनमा छ।

लुम्बिनी प्रदेशको रोल्पा जिल्लामा सिद्द राजमार्ग प्रभावित बनेको छ। परिवर्तन गाउँपालिका–५ ग्रामिण र वडा नम्बर ७ भुइँखेतमा एकतर्फी मात्र सवारी चलिरहेको प्रहरीले जनाएको छ। कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिका–६ रिगाङमा जाजरकोट–डोल्पा भेरी करिडोर सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ।