बढ्दो बेरुजुको मुख्य जिम्मेवार लेखा समिति होः सांसद केसी


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले बढ्दो बेरुजुको मुख्य जिम्मेवार सार्वजनिक लेखा समिति रहेको टिप्पणी गरेका छन् ।

आइतवार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद केसीले मुलुकमा बढ्दै गएको बेरुजु र घट्दै गएको फछ्र्यौट मुख्य जिम्मेवार लेखा समिति र संवद्ध प्रशासनिक निकाय रहेको टिप्पणी गरेका हुन्।

उनले मुलुकमा बेरुजु कम गर्दै मुलुकमा आर्थिक पारदर्शीता कायम गर्नेबारे समितिले गम्भीर भएर सोच्न जरुरी रहेको बताए । उनले महालेखा परीक्षकको कार्यालयभित्रको संरचना र क्षमता सुधारका लागि पनि लेखा समितिले भुमिका खेल्नुपर्ने बताए ।

राज्य प्रणालीमा भएको समस्याको सुधार नगरी  लेखा प्रणालीका समस्या केवल सैद्धान्तिक बहसमा सीमित राख्दा समस्या बढ्दै जाने उनको भनाइ छ ।

उनले मुलुकमा सुशासन कायम गर्दै आर्थिक प्रशासनिक निकायहरुको संस्थागत कार्यक्षमतामा वृद्धि गर्नु आजको आवश्यकता भएको बताए ।