नेपाल–श्रीलङका चेम्बरबिच साना तथा मझौला उद्यम प्रवर्धनका लागि रणनीतिक साझेदारी


काठमाडौँ । श्रीलङकास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र श्रीलङकन चेम्बर अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेज (एसएलसीएसएमआई) बिच साना तथा मझौला उद्यम (एसएमई) प्रवर्धन, व्यापार तथा लगानी अभिवृद्धिका लागि रणनीतिक साझेदारीको सम्झौता भएको छ।

सम्झौतामा नेपाली पक्षबाट एनसीसीका अध्यक्ष कमलेस कुमार अग्रवाल र श्रीलङकन पक्षबाट एसएलसीएसएमआईका अध्यक्ष रोहन डी शिल्भाले हस्ताक्षर गरेका हुन्। हस्ताक्षर समारोहमा श्रीलङकाका लागि नेपाली राजदूत डा। पूर्ण बहादुर नेपालीको उपस्थिति रहेको थियो।

चेम्बरद्वारा जारी विज्ञप्तिअनुसार, सम्झौताको उद्देश्य दुई देशबीचको साना तथा मझौला उद्यम क्षेत्रको प्रवद्र्धन, व्यापार सहजीकरण, लगानी अभिवृद्धि तथा निजी क्षेत्रबीचको सहकार्यलाई बलियो बनाउनु रहेको छ।

सम्झौताअनुसार दुवै देशबिच एसएमईका क्षेत्रमा अभ्यास, नीतिगत व्यवस्था, क्षमता अभिवृद्धि कार्यक्रम, तालिम, कार्यशाला तथा गोष्ठी जस्ता विषयमा आपसी सहकार्य गरिनेछ। साथै, चेम्बर प्रतिनिधिहरूबिच द्विपक्षीय भेटवार्ता, एसएमई क्षेत्रमा द्विपक्षीय लगानी प्रवर्द्धन तथा प्राविधिक सहयोगको आदानप्रदान गरिने बताइएको छ।

त्यस्तै, साना तथा मझौला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको एक अर्काका देशमा प्रदर्शनी तथा व्यापार अभिवृद्धि गर्नका लागि पनि दुबै चेम्बरले समन्वय गर्ने उल्लेख छ।

सम्झौतामार्फत् द्विपक्षीय व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण तथा साना तथा मझौला उद्योगको सम्भावनामा केन्द्रित संयुक्त खोज तथा अनुसन्धानलाई समेत प्राथमिकता दिइने चेम्बरले जनाएको छ।

चेम्बरका अनुसार, नेपाल र श्रीलङकाबीच साना तथा मझौला उद्यमको प्रवर्धन गर्न दीर्घकालीन रणनीतिक साझेदारीको यो सम्झौता महत्वपूर्ण अवसरका रूपमा स्थापित हुनेछ ।