काठमाडौं । गृहमन्त्री रमेश लेखकले कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न समिति बनाइएको बताएका छन् ।
बुधवार कानून, न्याय तथा मानव अधिकार समितिको सिंहदरबारमा बसेको बैठकलार्इ सम्बोधन गर्दै गृहमन्त्री लेखकले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति बनाइएको बताए । छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि सो आधारमा दोषीमाथि कानूनी कारबाही गर्ने र समितिको प्रतिवेदनअनुसार अरु कार्यहरु गर्ने गरी समिति बनाइने उनले जानकारी दिए ।
कैलाली कारागारमा भएको झडपमा एक कैदीबन्दीको मृत्यु भएको र ४८ जना घाइते भएका थिए । अस्पतालले रिफर गरेका तीन जनालाई काठमाडौं ल्याइ दुई जनाको ट्रमा सेन्टर र एक जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बाँकी ४ जना सेती प्रादेशिक अस्पतालमा उपचारपछि डिस्चार्ज भएर सुरक्षा जोखिम नहुने कारागारमा पठाइएको छ । बाँकी ४१ जना हाल सेती प्रादेशिक अस्पतालमा उपचाररत रहेका छन् ।
कैलाली कारागारमा पुरुष ब्लक ए र ब्लक बी गरी दुई वटामा ६ सय ४३ जना पुरुष र महिला एउटा ब्लक सीमा ४७ जना महिला गरी ७ सय जना बन्दी रहेको गृहमन्त्री लेखकले जानकारी दिए । साउन २२ गते राति दुई वटा ब्लक छुट्याउने पर्खाल तोडफोड गरी ब्लक भत्काएर कैदीबन्दीहरु ब्लक बीमा पुगेर त्यहाँका बन्दीहरुलाई कुटपिट गरेको घटना विवरणबाट खुलेको उनले जानकारी दिए।
कारागरामा बन्दीहरुको आन्तरिक द्वन्द्व भएको सूचना आएपछि द्वन्द्वरत समूहहरुको नेतृत्वकर्ताहरु १७ जना अन्यत्र सरुवा गर्ने, कारागार राख्न नहुने वस्तुहरुको भए, नभएको पत्ता लगाउन दुई पटकसम्म विशेष खानतलासी लिने, प्रमुख जिल्ला अधिकारीबाट कारागार निरीक्षण गरी कारागारमा शान्ति सुरक्षा कायम गर्न बन्दीहरुलाई सम्झाउने लगायतका कार्य भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्