प्रधानमन्त्री ओलीले भनेः एक किसान १० भैँसी, लाख किसान व्यवसायीक भैँसी पालन अभियान सुरू गर्न जरुरी छ


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एक किसान १० भैँसी, लाख किसान व्यवसायिक भैँसी पालन’ अभियान तुरुन्त सुरू गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौता गर्दै उनले कृषि क्षेत्रमा छिटो परिवर्तन ल्याउन सकिने भएकाले बोल्ड निर्णयसहित अगाडि बढ्नुपर्ने बताए ।

उनका अनुसार वागमती, कोशी, मधेस र लुम्बिनी प्रदेशमा व्यवसायिक भैँसी पालनको व्यापक अभियान सञ्चालन गर्न सकिनेछ। भैँसी किनेर किसानलाई वितरण गर्दा दुग्धजन्य उत्पादन वृद्धि हुने, मासु उत्पादन बढ्ने र नेपाल आत्मनिर्भर बन्ने विश्वास प्रधानमन्त्री ओलीको छ। साथै, यसले रोजगारी सिर्जना गरेर युवाशक्ति स्वदेशमै रोक्न सकिने उनको भनाइ थियो।

राँगाको मासु चीन निर्यात गर्ने तयारीमा रहेको सरकारलाई लक्षित गर्दै ओलीले किसानलाई भैँसीका पाडी उपलब्ध गराउने प्रस्ताव राखे।

उनले भने, “हामीले बोल्ड स्टेप लिनुपर्छ। कसले के भन्छ भनेर बस्ने समय छैन। भैँसीका पाडी किनेर किसानलाई दिऔँ, लगानी गरौँ, अभियान चलाऔँ। लाख किसानलाई १० भैँसीका दरले पाल्न लगायौँ भने १० लाख भैँसी पाल्न सकिन्छ। डेरी उत्पादन र मासु बिक्री दुवै बढ्छन्, देश विकासमा टेवा पुग्छ।”

प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई मौलिक योजना बनाएर मौलिक ढंगले काम अघि बढाउन पनि निर्देशन दिए ।