नेपाल–अमेरिका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीद्वारा बौद्धिक सम्पत्ति अधिकार कार्यान्वयनमा जोड


काठमाडौं । नेपाल–अमेरिका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री ( एनयुएसएसिसिआई)ले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई गत वर्षको सेप्टेम्बरमा सम्पन्न व्यापार तथा लगानी रूपरेखा सम्झौता (टिफा) परिषद्को बैठकमा गरिएका प्रतिबद्धताहरू तत्काल कार्यान्वयन गर्न जोडदार आग्रह गरेको छ ।

टिफा परिषद्को बैठकमा बौद्धिक सम्पत्ति अधिकार (आई.पी.आर.) सँग सम्बन्धित कानुनी र संस्थागत सुधारका साथै प्राविधिक विशेषज्ञताको विकास मार्फत ट्रेडमार्क प्रशासन र परीक्षणमा सुधार गर्न नेपालको पहलहरूले विश्वसनीयता बढाउने र थप लगानी भित्राउने बताइएको थियो ।

गत वर्षको सेप्टेम्बरमा भएको उक्त बैठकमा आई.पी.आर. को संरक्षण र कार्यान्वयन, नेपाल व्यापार प्राथमिकता कार्यक्रम (एन.टी.पी.पी.) को निरन्तरता, लगानीको वातावरण सुधार, डिजिटल अर्थतन्त्रको प्रवद्र्धन, व्यापार सहजीकरण र अल्पविकसित देशबाट स्तरोन्नति जस्ता विषयहरूमा प्रतिबद्धता व्यक्त गरिएको थियो ।

एनयुएसएसिसिआईले लामो समयदेखि बौद्धिक सम्पत्ति अधिकार सम्बन्धित मुद्दाहरूमा विभिन्न सेमिनार तथा कार्यशालाहरू आयोजना गर्दै आएको बताएको छ । यसले अन्तर्राष्ट्रिय र घरेलु कम्पनीका ट्रेडमार्क र लेबलहरूको प्रयोग तथा दुरुपयोगबारे उद्योग÷व्यवसाय समुदायमा जागरूकता बढाउँदै आएको उसको दाबी छ ।

ट्रेडमार्क र नक्कली लेबलहरूको अनुचित प्रयोगले नेपालको छविलाई घरेलु रूपमा मात्र हानि नपुर्‍याई अन्तर्राष्ट्रिय रूपमा यसको प्रतिष्ठालाई पनि कमजोर बनाउने भन्दै एनयूएसएसीसीआईले यजसले गर्दा सम्भावित विदेशी लगानी निरुत्साहित हुने बताएको छ ।

नेपालको आर्थिक विकासका लागि विदेशी लगानी अपरिहार्य रहेको भन्दै एनयूएसएसीसीआईले बौद्धिक सम्पत्ति अधिकारको प्रभावकारी कार्यान्वयनले मात्र लगानीकर्ताको विश्वास जित्न सकिनेमा जोड दिएको छ ।