काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले नाडाले नीतिगत रूपमा लबिङदेखि नयाँ मोबिलिटी प्रवर्धनसम्म ध्यान दिएर अघि बढिरहेको बताएका छन् । आजदेखि सुरु भएको नाडा अटो सो २०२५ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले सो कुरा बताएका हुन् ।
उनले नेपालमा अटोमोबाइल क्षेत्रले ठूलो मात्रामा रोजगारी सिर्जना गरेको बताए । उनले देशभर करिब १० लाखभन्दा बढी प्रत्यक्ष रोजगारी र ३ हजार व्यवसायलाई यो क्षेत्रमा बाँधेर राखिएको उल्लेख गर्दै अटोमोबाइल उद्योग केवल सवारी साधन बिक्री वितरणमा सीमित नभई लाखौं मानिसको जीवनयापनसँग प्रत्यक्ष जोडिएको बताए।
उनले हाल देशमा युवाहरू रोजगारीको खोजीमा विदेश पलायन भइरहेको चर्चा गर्दै नाडा भने युवालाई सीप सिकाएर स्वदेशमै रोजगार दिन प्रतिबद्ध रहेको उल्लेख गरे।
उनका अनुसार नेपालमा बिक्री हुने ४० प्रतिशत गाडीको बुकिङ अटो सोकै माध्यमबाट हुने गरेको छ। त्यसैले अटो सो केवल प्रदर्शनी नभई व्यवसायी र ग्राहकलाई जोड्ने महत्वपूर्ण संगम भएको उनले बताए। यसपटकको प्रदर्शनीमा ह्युमनाइड रोबोट र फ्लाइङ ट्याक्सीसमेत सार्वजनिक गरिएको जनाउँदै उनले यो विषय देशका लागि गर्वको भएको बताए।
अध्यक्ष चौधरीले सरकारले वातावरणीय दृष्टिले इभीहरूलाई प्रोत्साहन दिन थालेकोमा प्रशंसा गर्दै अझ सशक्त नीतिगत सहयोग आवश्यक रहेकोमा जोड दिए। उनले आगामी दिनमा एसेम्बलिङ उद्योगलाई बलियो बनाउन आवश्यक कच्चा पदार्थ उत्पादनतर्फ पनि सरकार अगाडि बढ्नुपर्ने सुझाव दिए।
“आगामी दिनमा चुनौती अझ बढ्छ तर हामी युवालाई अघि लिएर आत्मविश्वासका साथ सशक्त रूपमा अघि बढ्छौं,” चौधरीले भने। उनले यसपटकको नाडा अटो सोलाई उल्लासका साथ मनाउन सबैलाई आह्वानसमेत गरे।
प्रतिक्रिया दिनुहोस्