प्रविधिको क्षेत्रमा नेपालले छिट्टै महत्वपूर्ण फड्को मार्छः प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको क्षेत्रमा नेपालले छिट्टै महत्वपूर्ण फड्को मार्ने बताएका छन् । ‘नाडा अटो सो २०२५’ को उद्घाटन समारोहमा उनले प्रदर्शनीमा देखाइएको रोबोटलाई सुरुवाती चरणको संकेत गर्दै भविष्यमा यसले ठूलो विकास गर्ने बताएका हुन् ।

अहिले विद्यार्थीहरूले रोबोट र रकेट निर्माणमा हात हाल्न थालेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रविधि तीव्र गतिमा अघि बढिरहेको र नेपालले पनि त्यसलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताए । उनले उड्ने कार अहिले उड्न नसके पनि निकट भविष्यमा नेपालमै त्यस्ता कार निर्माण गरेर निर्यात गर्न सक्ने सम्भावना रहेको बताए ।

ओलीले नाडाका अध्यक्ष युवाशक्ति भएको भन्दै उनको प्रशंसा गर्दै अटोमोबाइल क्षेत्रमा देखिएको प्रगति र उपलब्धिप्रति खुशी व्यक्त गरे । व्यवसायीहरूले असन्तुष्ट हुने कारण नरहेको भन्दै उनले कर तथा मौद्रिक नीतिमा सरकारले स्थिर नीति लिएको उल्लेख गरे ।

यसले अग्रगमनको यात्रामा सहजीकरण गर्ने बताउँदै उनले किसान, मजदुर र भूमिहीन जनतालाई समेत यसबाट सहयोग पुग्ने दाबी गरे । पूर्वाधार विकासतर्फ सरकार गम्भीर रहेको भन्दै प्रधानमन्त्री ओलीले पूर्वपश्चिम राजमार्ग र हुलाकी राजमार्गको निर्माण तीव्र गतिमा भइरहेको बताए ।

अटोमोबाइल सञ्चालनका लागि बाटोघाटोको समस्या नरहेको भन्दै उनले अब सिंगल लेन सडक नभई डबल लेनको निर्माणमा जोड दिइएको जानकारी दिए ।

उनले अटोमोबाइल क्षेत्रमा इभीतर्फ अघि बढ्ने र ग्रिन इनर्जी उत्पादनलाई समेत प्राथमिकता दिइरहेको सरकारको नीति रहेको स्मरण गराउँदै नेपालको प्राविधिक क्षमताले भविष्यमा विश्वलाई चकित पार्ने विश्वास व्यक्त गरे ।