काठमाडाैँ । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले हिन्दुकुश हिमालय क्षेत्रका देशहरुले साझा एजेण्ड बनाइ जलवायु परिवर्तनका असरबारे काम गर्नुपर्ने बताएकी छन् ।
हिन्दुकुश हिमालय संसदीय सम्मेलनका क्रममा मंगलवार काठमाडौँमा सम्बोधन गर्दै उनले हिन्दुकुश हिमालय क्षेत्रका मुलकहरुको पारिस्थतिकीय प्रणाली सामाजिक र आर्थिक चुनौतिका विषयहरु सबैका साझा मुद्दा रहेको भन्दै यसबारे लड्न सबै मिल्नुपर्ने जरुरी रहेको बताएकी हुन् ।
हिन्दुकुश हिमालय क्षेत्रमा वायु प्रदुषण, जैविक विविधताको ह्रास, जलवायु परिवर्तनबाट सिर्जित संकट जस्ता विषय साझा चुनौतिका रुपमा देखापरेको बताइन् । स्वच्छ हावामा श्वास फेर्न पाउने नागरिकको नैसर्गिक अधिकार रहेको बताउँदै हिन्दुकुश हिमालयन क्षेत्रका विद्यमान जैविक विविधताको उचित संरक्षण र व्यवस्थापन गरेर त्यसबाट समुदायले लाभ प्राप्त गर्ने सम्भावना तथा प्रकृति समाजको जलवायु उत्थानशिलतामा अभिवृद्धि गर्न यस क्षेत्रका सांसद तथा सरकार मिलेर साझा एजेण्डामा काम गर्न आवश्यक रहेको पनि उनकाे भनाइ छ ।
समावेशी र सुदृढ हिन्दुकुश हिमालयन निर्माण गर्न क्षेत्रीय एकता र सहकार्यलाई अझ व्यापक बनाउनुपर्ने विषयलाई जोड दिँदै हिमालदेखि महासागरसम्म सबैको लागि स्वच्छ हावामा श्वास फेर्न पाउने वातावरणको निर्माण गर्नुपर्ने जरुरी रहेको उल्लेख गरिन् । जलवायु परिवर्तनबाट पर्ने असरलाई सम्बोधन गर्न हिन्दकुश हिमालय क्षेत्रका मुलुकहरुले महत्वकांक्षी कदमहरु चाल्नुपर्ने उनकाे भनाइ छ ।
उपाध्यक्ष घिमिरेले भूगोलले फरक ठाउँमा भएपनि समस्या साझा रहेको बताउनु भयो । एकीकृत कानून निर्माण गरेर समस्याहरुको सम्बोधन गर्न जरुरी रहेको बताइन् ।
प्रतिक्रिया दिनुहोस्