माओवादीको निष्कर्षः सरकार अधिनायकवादतर्फ गयो


काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकार अधिनायकवादतर्फ गइरहेको निष्कर्ष निकालेको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सरकारका काम,कारबाहीबारे संक्षिप्त जानकारी गराउनुभएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

उनले सरकार झनझन अधिनायकवाद, तानाशाहीकरणतिर गइरहेको माओवादीको निष्कर्ष रहेको उल्लेख गरे । सरकारको कामबाट जनता धेरै रुष्ट र आक्रोशित भएको उनकाे भनाइ छ । सरकार देश, जनताको हित विपरित गलत कदम चालेर अघि बढिरहेको उनले आरोप लगाए । भूमि विधेयकमा आफ्ना मान्छेलाई जग्गा बाँड्न अनेक प्रपञ्च गरिरहेको उनले आरोप लगाएका हुन् ।

प्रवक्ता सापकोटाले सरकारको अलोकतान्त्रिक र अधिनायकवादी चरित्रले गर्दा व्यवस्थामै असर परिरहेको जिकिर गरे।