डेरी एसोसिएसनद्वारा तीजमा ‘घिउ अभियान’ सहित दर खाने तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


काठमाडौँ । नेपाली महिलाहरूको महान् पर्व तीजको अवसर पारेर नेपाल डेरी एसोसिएसनले ललितपुरस्थित आफ्नो केन्द्रीय कार्यालयमा ‘दर खाने तथा शुभकामना आदानप्रदान कार्यक्रम-२०८२’ सम्पन्न गरेको छ ।

तीजलाई मौलिक संस्कार, सभ्यता र भव्यतापूर्वक मनाउनुपर्नेमा जोड दिँदै यस वर्ष एसोसिएसनले महिलामुखी अभियानलाई अझ प्रभावकारी बनाउन ‘घिउ अभियान’ को सुरुवात गरेको हो । यस अभियानअन्तर्गत तीजमा उपस्थित अतिथि र सम्पूर्ण महिला सदस्यलाई उपहारस्वरूप घिउ वितरण गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सभाका उपसभामुख अपसरा चापागाईं थिइन् भने नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले कार्यक्रमको अध्यक्षता गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेश श्रेष्ठ, नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडियाँ, पदाधिकारीहरू, नेपाल कृषि तथा पशुपन्छी व्यवसायी महासंघका महासचिव श्रीकृष्ण भण्डारी, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल निर्यात महासंघ, रोटरी क्लब कपन, दृश्य बहुउद्देश्यीय सहकारी संस्था, अप्टिमिस्ट क्लब अफ डेरी इन्टरप्रेन्युरलगायतका संघ–संस्थाका पदाधिकारी तथा महिला सदस्यहरूको उल्लेख्य सहभागिता थियो ।

यस्तै, निवर्तमान योजना आयोगका सदस्य दिपेन्द्र श्रेष्ठ र अनाजका अध्यक्ष किरण आचार्य पनि कार्यक्रममा उपस्थित रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपसभामुख अपसरा चापागाईंले तीज केवल महिलामात्रको पर्व नभई समाजमा सद्भाव, आपसी सहयोग र सम्मानको सन्देश दिने पर्व भएकाले यसलाई भड्किलो भन्दा सभ्य र मौलिक शैलीमा मनाउनुपर्ने बताइन् ।

नेपाल कृषि तथा पशुपन्छी व्यवसायी महासंघका महासचिव श्रीकृष्ण भण्डारीले डेरी एसोसिएसनले महिला सशक्तिकरण मात्र नभई दुग्ध व्यवसाय प्रवर्द्धनमार्फत देशको समग्र विकासमा समेत योगदान पुर्‍याइरहेको उल्लेख गरे ।

नेपाल डेरी एसोसिएसनले यसअघि ‘मोहि अभियान’ सफलतापूर्वक सञ्चालन गरेको अनुभवलाई निरन्तरता दिँदै यसपटक ‘घिउ अभियान’ सुरू गरेको हो ।

उपस्थित वक्ताहरूले यस किसिमका अभियानहरूले देशी उत्पादनलाई प्रोत्साहन गर्ने मात्र नभई महिलामुखी पर्वमा आत्मनिर्भरता र मौलिक परम्पराको संरक्षणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।