धनुषामा अत्याधुनिक कृषि तथा पशुपन्छी सेवा केन्द्र उद्घाटन, किसानलाई घरदैलोमै सेवा दिने मन्त्री अधिकारीको प्रतिबद्धता


काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ५ गोदारमा निर्माण गरिएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको बुधबार उद्घाटन गरेका छन् । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तर्गत बनेको उक्त भवन नगरपालिकालाई हस्तान्तरण गरिएको हो।

उद्घाटन कार्यक्रममा मन्त्री अधिकारीले किसानले आफ्नै गाउँघरमा सहज रुपमा सेवा पाउने व्यवस्था सरकारले गरिरहेको बताए । उनले भने, “हामीले कृषकलाई आवश्यक सल्लाह, बाली र पशुपन्छीमा देखिने रोग तथा समस्याको समाधान घरदैलोमै पुर्‍याउने प्रयास गर्दै आएका छौं। किसानले यस सेवाको लाभ लिनुपर्छ।”

उनले विभिन्न पालिकामा आयोजना मार्फत अत्याधुनिक भवनहरू निर्माण भइसकेकाले स्थानीय तहले यसको प्रभावकारी सञ्चालनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्वकृषिमन्त्री रामकृष्ण यादवले किसानलाई थप सहजीकरण आवश्यक रहेको बताए । त्यस्तै, पूर्वरक्षामन्त्री हरिप्रसाद उप्रेतीले कृषिको बजार व्यवस्थापनलाई पनि सरकारले प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।

नगरप्रमुख जितनारायण यादवले अत्याधुनिक प्रयोगशाला सहितको सेवा केन्द्र सञ्चालनमा आएपछि कृषि तथा पशुपन्छीमा देखिने समस्या समाधान गर्न सहज हुने विश्वास व्यक्त गरे ।

आयोजनाका निर्देशक तथा सहसचिव डा.चन्द्र रिसालले केन्द्रको प्रभावकारी सञ्चालनमा पालिकाको भूमिका महत्त्वपूर्ण हुने भएकाले यसलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

करिब २ करोड ३३ लाख रुपैयाँ लागतमा बनेको भवनमा माटो परीक्षणदेखि पशु स्वास्थ्य परीक्षणसम्मका सेवा उपलब्ध हुने जानकारी आयोजनाको आर्थिक करिडोर महोत्तरी प्रमुख राजेश साहले दिए।