काठमाडौँ । देशका युवाहरुको बढ्दो विदेश पलायन र स्वदेशप्रतिको नैराश्यतालाई रोक्न सही सरकारी नीति र व्यवसायिक कार्यरणनीतिको खाँचो रहेको सरोकारवालाहरूले बताएका छन् ।
भृकुटीमण्डपमा जारी ‘नाडा अटो साे २०२५’ अन्तर्गत शुक्रबार राजधानीमा आयोजित ‘युथ, मोबिलिटी एण्ड नेशनल्स ड्रीम स् ब्रिजिङ द ग्याप बिट्विन एस्पिरेशन एण्ड अपोर्च्युनिटी इन नेपाल’ शीर्षकको छलफल कार्यक्रममा विभिन्न वक्ताहरूले यस्तो धारणा राखेका हुन् ।
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्र बहादुर क्षत्रीले शिक्षा प्रणाली कमजोर भएको र युवाहरुको भविष्य सुरक्षित गर्ने वातावरण नहुँदा उनीहरू स्वदेशमा बस्न नचाहेको बताए ।
उनले भने, “रोजगारीको ग्यारेन्टी छैन, गुणस्तरीय शिक्षा र स्वतन्त्रताको चाहना छ । यिनै कारणले देश विस्तारै रिक्तिदैँ गएको छ । यसको मूल दोष राजनीतिक, प्रशासनिक र नीतिगत कमजोरीमै छ ।” क्षत्रीका अनुसार युवाहरूको महत्वाकांक्षा र राज्यको अपुरो रणनीतिक कारण विदेश पलायन तीव्र हुँदै गएको हो ।
अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराईले युवालाई स्वदेशमै अड्याउन समाजको सोच परिवर्तन आवश्यक भएको बताए । “व्यवसाय नगरी पुँजी बनाउन सकिँदैन तर नेपाली समाजमा व्यवसायीलाई नकारात्मक दृष्टिले हेर्ने चलन छ । यस्ता गलत धारणाले रोजगारी र पुँजी वृद्धिमा बाधा पुर्याएको छ,” उनले भने । स्पष्ट नीति र व्यवसायिक सहजीकरणमार्फत विदेशिएका युवाहरुलाई फर्काउन सकिने भट्टराईको भनाइ थियो ।
नेपाल युवा उद्यमी संघका अध्यक्ष सुदिप घिमिरेले देशभित्रै ठूलो सम्भावना हुँदाहुँदै पनि युवाहरु रोक्न नसकिएको बताए । अस्थिर राजनीति, नीतिगत जटिलता र प्रशासनिक झमेलाले युवाहरुलाई दिकदारी बनाएको उनले उल्लेख गरे ।
सरकारको स्पष्ट नीति र युवा लक्षित कार्यक्रमले मात्र समस्या समाधान गर्न सक्ने उनको भनाइ थियो । “४०–५० लाखको गाडी चढ्न विदेशिनु पर्दैन, बरु यहीँ केही गर्न सक्ने सहज वातावरण बन्नुपर्छ,” उनले जोड दिए ।
त्यसैगरी नेपाल अटो पत्रकार संघका अध्यक्ष सागर गजुरेलले युवाहरू गाडी र घर जोड्ने सपनाका कारण विदेशिन बाध्य भएको बताए । उनले सवारी कर्जामा सहजता ल्याउनुपर्नेमा जोड दिँदै भने, “गाडीको आयु २० वर्ष तोक्ने तर कर्जाको अवधि ७ वर्ष राख्ने जस्ता नीतिले युवालाई विदेश जान बाध्य बनाएको छ । यस्तो सहज नीति स्वदेशमै ल्याउनुपर्छ ।”
छलफल कार्यक्रम नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजना तथा अटो पत्रकार संघ (जाम) को सहआयोजनामा सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्