काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको ईन्जिनियरीङ् शिक्षालाई विश्वस्तरीय बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
नेपाल ईन्जिनियरीङ् काउन्सिलले आयोजना गरेको ‘ईन्जिनियरीङ् क्षेत्रको रुपान्तरण’ विषयक दुई दिने कार्यशालाको शनिबार सम्पन्न समापन कार्यक्रममा उनले नेपाली ईन्जिनियरको योग्यता र क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न एक्रिडिएसन प्रक्रिया प्रभावकारी हुने विश्वास व्यक्त गरेका हुन्।
मन्त्री दाहालले नेपालमै अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिँदै सो उद्देश्य प्राप्तिका लागि काउन्सिलको नेतृत्व र पहल फलदायी हुने उल्लेख गरे।
उनले सरकार नेपाली ईन्जिनियरहरूको क्षमता अभिवृद्धि, शैक्षिक सुधार र अध्ययन–अनुसन्धानलाई आवश्यक सहयोग गर्न तयार रहेको पनि स्पष्ट पारे ।
पूर्वाधार विकासमा इन्जिनियरहरूको योगदान महत्त्वपूर्ण रहेको भन्दै मन्त्री दाहालले नयाँ विकास योजना र कार्यक्रमलाई अनुसन्धानमुखी बनाउनुपर्ने धारणा राखे।
कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले ईन्जिनियरीङ् शिक्षालाई प्रयोग र अभ्यासमा आधारित बनाउनुपर्नेमा जोड दिँदै यस क्षेत्रको विकास र स्तरोन्नतिका लागि सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताए ।
नेपाल ईन्जिनियरीङ् काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीका अनुसार कार्यशालामा नतिजामुखी शिक्षामार्फत ईन्जिनियरीङ् क्षेत्रमा कसरी रुपान्तरण ल्याउन सकिन्छ भन्ने विषयमा विज्ञ, प्राध्यापक र सरोकारवाला बीच गहन छलफल र अन्तरक्रिया भएको थियो । कार्यक्रममा श्रीलंकाका प्राध्यापक जे.पी. करुणा दासले समेत सहजीकरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्