झापा इनर्जीले भदौ २० गतेदेखि आइपिओ जारी गर्दै


काठमाडौँ। झापा इनर्जी लिमिटेडको आइपिओ भदौ २० गतेदेखि निष्काशन तथा बिक्रि खुला हुने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्काशन र बाँडफाँट गरिसकेको छ भने अब सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्न लागेको हो ।

सर्वसाधारण लगानीकर्ताहरूका लागि ४ करोड ७३ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर निष्काशन गर्न लागेको जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ३ लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि ५७ हजार २९ कित्ता साधारण शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

सामूहिक लगानी कोषहरुका लागि २८ हजार ५१४ कित्ता र कर्मचारीहरुका लागि ११ हजार ४०६ कित्ता छुट्याएर सर्वसाधारणको लागि आइपिओ बिक्री गर्ने भएको हो ।

आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा भदौ २४ गते हुनेछ भने ढिलोमा असोज ३ गते हुनेछ।