‘रासायनिक मलको अधिक प्रयोगले माटोको उर्वरा शक्ति घट्यो’


काठमाडौं । माटोको संरक्षण, सम्बर्दन र व्यवस्थापन बिना खाद्य तथा पोषण सुरक्षा, दिगो कृषि विकास, जैबिक विविधता संरक्षण, प्राङगारिक कृषि लगायतका विषयको विकास नहुने कृषि विभागका महानिर्देशक डा। रेवती रमण पौडेलले बताएका छन् ।

‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको शुरुवात’ भन्रे नाराका साथ मंसिर १९ गते नवौं विश्व माटो दिवसको अवसरमा भएको एक कार्यक्रममा पौडेलले उक्त कुरा व्यक्त गरेका हुन् ।

पौडेलले नेपाल लगायत विश्वमा नै माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रेको र माटोको उर्वराशक्तिमा ह्रास आउने क्रम दिन प्रतिदिन बढ्दै गएको बताए । उनले भने, “नेपालको माटोको स्वास्थ्यता बिग्रनुका प्रमख कारण कम्पोष्ट मल, हरियो मलको प्रयोग न्यून गर्नु हो । रासायनिक मलको असन्तुलित प्रयोग हुनुको साथै विषादीको प्रयोग बढ्दै जादाँ यस्तो भएको हो । तर हामीले अझै ध्यान दिएका छैनौँ ।’’

“माटोको पोषक तत्व न्यून हुदैँ जानु विश्वव्यापी रुपमा चिन्ताको विषय हो । मोटोको उर्वरामा ह्रास हुँदै जाने क्रम निरन्तर जारी रहँदा नेपालमा पनि उत्पादनको कमी आएको र खाद्य उत्पादन नै जोखिममा रहेको छ ,’’ पौडेलले भने ।

नेपालको खेतियोग्य जमिनको ५० देखि ५५ प्रतिशत माटो अम्लिय प्रकृतिको , ४ देखि ५ प्रतिशत क्षारिय र ४० देखि ४५ प्रतिशत माटो मात्र तटस्थ प्रकृतिको रहेको विभागले जनाएको छ । त्यस्तै विभागले सावर्जनिक गरेको विवरण अनुसार देशका विभिन्र भागबाट माटोको नमुन परिक्षण गर्दा ४०देखि ४५प्रतिशत माटोमा प्राङ्गारिक पर्दाथको मात्र न्यून रहेको छ भने ४१ प्रतिशतमा मध्यम र १५ प्रतिशत अधिक रहेको पाइएको छ ।

नेपालमा खेति गरिने जमिनको ५६ प्रतिशत नाईट्रोजनको मात्रा न्यून, ३० प्रतिशतमा मध्यम र १४ प्रतिशतमा अधिक रहेको छ भने फस्फोरस तत्व ४२ प्रतिशत न्यून, २८ प्रतिशत मध्यम र ३१ प्रतिशतअधिक रहेको विभागले जनाएको छ ।