काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पदबाट राजीनामा दिएको जानकारी दिए ।
पौडेलले भाद्र २३ गते देशभरका सडकमा भएका प्रदर्शनलाई लिएर आफ्नो निर्णयको कारण स्पष्ट पारेका छन्। उनका अनुसार सडक र सामाजिक सञ्जालमा उर्लिएको जेनजी पुस्ताको आक्रोश भ्रष्टाचार र कुशासनविरुद्धको जायज चेतावनी हो। उनले भने, “उनीहरूले केवल प्रश्न सोधेका थिए, आफ्नो भविष्य मागेका थिए, भिडन्त होइन। उनीहरूले राज्य व्यवस्थामा सुधार खोजेका हुन्, अराजकता होइन।”
स्वास्थ्य मन्त्रीको रूपमा उनले आफ्नो कार्यकालभरि नेपाली कांग्रेस, विज्ञहरू, निर्वाचन क्षेत्रका जनता र स्वास्थ्यकर्मीहरूप्रति आभार व्यक्त गरेका छन्। उनले थपे, “नागरिकको स्वास्थ्य सेवामा दिन-रात नभनि समर्पित कर्मचारी, चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु।”
प्रतिक्रिया दिनुहोस्