नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त


काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ।

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुवेदीलाई बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गरेका छन्। नियुक्तिपत्र प्रदान गर्दै अर्थमन्त्री वाग्लेले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्।

बैंकिङ क्षेत्रमा लामो अनुभव

सुवेदीसँग बैंकिङ, वित्तीय व्यवस्थापन, संस्थागत सुशासन तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव छ। उनी कृषि विकास बैंक (एडीबीएल) मा कार्यरत रहँदै विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए।

उनले कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसमेत सम्हालेका थिए। बैंकमा मानव संसाधन तथा सेवा, प्रमुख सञ्चालन अधिकृत र प्रमुख कर्जा अधिकृतका रूपमा काम गरेका सुवेदीले कम्पनी सचिवालय प्रमुखको जिम्मेवारी पनि निर्वाह गरेका छन्।

सुवेदीले बैंकिङ क्षेत्रमा आन्तरिक लेखापरीक्षण, अनुपालना, कर्जा व्यवस्थापन, निक्षेप परिचालन, डिजिटल बैंकिङ, संस्थागत योजना तथा बजेट निर्माणलगायत क्षेत्रमा काम गरेको अनुभव छ। उनले बैंकको कम्पनी सचिवालयमा रहँदा सार्वजनिक कम्पनीमा रूपान्तरणपछिका साधारणसभा तथा संस्थागत सुशासनसम्बन्धी काममा पनि भूमिका निर्वाह गरेका थिए।

उनले नेको इन्स्योरेन्सको सञ्चालक सदस्य तथा फन्ड म्यानेजमेन्ट कम्पनीको सञ्चालक समितिको अध्यक्षका रूपमा समेत काम गरिसकेका छन्। सुवेदीले साना किसान विकास लघुवित्त र डिप्रोक्स लघुवित्तको सञ्चालक सदस्यको जिम्मेवारी पनि सम्हालेका थिए।

सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गरेका छन्। उनको शैक्षिक पृष्ठभूमि र कार्यानुभवमा बैंकिङ, वित्त, लेखा तथा बजारीकरणका विषय समेटिएका छन्।