काठमाडाैँ । नेकपा एमालेका सांसद पदम गिरीले भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकार र सुरक्षा निकायको भूमिकाप्रति गम्भीर प्रश्न उठाएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै देशमा सुशासन कायम होस्, विकासको बाटो खुलोस् र युवाले आफ्नै मातृभूमिमा रोजगारीसहितको सम्मानजनक जीवन जिउन सकून् भन्ने पवित्र उद्देश्यसहित नयाँ पुस्ता जेनजी आन्दोलनमा उत्रिएको स्मरण गराए। तर, शान्तिपूर्ण आन्दोलनमा स्वार्थी समूहको घुसपैठ भई परिस्थिति बिग्रिएको र सुरक्षा निकायको सतर्कता, सजगता र संयमता देखिन नसकेको उनको टिप्पणी छ।
सांसद गिरीले जीवनका रङीन सपना देख्नुपर्ने उमेरमा एक जेनजी युवकले सडकमा प्राण गुमाउनुपरेको पीडालाई केवल परिवारको नभई सिङ्गो राष्ट्रकै साझा पीडा भएको बताए। त्यस्तै उनले नेपालको हित नचाहने विदेशी शक्ति, धमिलो पानीमा माछा मार्न खोज्ने तत्व र जेलमा रहेका अपराधीहरूले आन्दोलनलाई आफ्नो फाइदामा प्रयोग गर्न खोजेको र त्यसमा केही हदसम्म सफलसमेत भएको उल्लेख गरे।
प्रधानमन्त्रीको राजीनामापछि पनि सिंहदरबार, संसद, अदालत, राष्ट्रपति भवन, अख्तियार, प्रहरी कार्यालय, कारागार, अस्पताल, विद्यालय, बैंक, व्यापारीक भवनदेखि व्यक्तिको निजी सम्पत्तिमासमेत आगजनी हुनु राज्यका जिम्मेवार निकायहरूको लापरबाही भएको उनको भनाइ छ। गिरीका अनुसार यस्तो घटनाले राष्ट्रलाई दीर्घकालीन रूपमा झस्काउने छ।
“नयाँ हुर्कँदै गरेका हाम्रा जेनजी पुस्ताका लागि लोकतन्त्रसहितको समृद्ध नेपाल चाहिएको हो। त्यसका लागि हामी सबैले योगदान गर्नुपर्छ तर कसैले आफ्ना निकृष्ट स्वार्थ पूरा गर्न गिद्धे दृष्टि नलगाउँ,” गिरीले भने।
सांसद गिरीले मृतकहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। साथै आन्दोलनका क्रममा घाइते भएकाहरूको निशुल्क उपचारको माग गर्दै शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
प्रतिक्रिया दिनुहोस्