दुर्गा प्रसाईँले भनेः जेनजी आन्दोलन दमन भए मुलुक फेरि गृहयुद्धतर्फ धकेलिन्छ


काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईँले जेनजी आन्दोलनप्रति राज्यको दमन चर्किंदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य जारी गर्दै देश फेरि भयावह गृहयुद्धतर्फ धकेलिने चेतावनी दिएका छन्।

उनका अनुसार जनयुद्धको समयमा १७ हजारभन्दा बढी नेपालीले ज्यान गुमाएको, खर्बाैँ मूल्य बराबरको सम्पत्ति नष्ट भएको र ५० हजारभन्दा बढी नागरिक घाइते बनेको अवस्थासँग अहिलेको परिस्थिति मिल्दोजुल्दो बन्दै गएको छ। “आज फेरि जेन–जी आन्दोलनलाई दमन गर्न राज्यले बर्बर शक्ति प्रयोग गर्दै सयौँ निर्दोष बालबालिकाको ज्यान लिएको छ, हजारौँलाई घाइते र अंगभंग बनाएको छ र ५० खर्बभन्दा बढी मूल्य बराबरको राज्य सम्पत्ति ध्वस्त हुन पुगेको छ,”प्रसाईँले लेखेका छन् ।

उनले माओवादीले जनयुद्धको समयमा वर्गदुश्मन भन्दै युद्धको औचित्य समाप्त पारेझैँ अहिले जेनजी आन्दोलनलाई राष्ट्रपतिको खोपिमा सुम्पिने प्रयास भइरहेको दाबी गरेका छन्।

“यो आन्दोलन केवल जेनजीको मात्र होइन, सम्पूर्ण नेपालीहरूको हो। तर युवाहरूलाई लक्षित गरेर दमन गर्ने, गिरफ्तार गर्ने, डर देखाउने काम भइरहेछ,” प्रसाईँले लेखेका छन्। उनका अनुसार आन्दोलनभित्र नै मतभेद बढ्दै गएको, नेतृत्व स्पष्ट हुन नसकेको र यसै अवसरमा दलाल, भ्रष्ट र देशद्रोहीहरूले फेरि टाउको उठाउने अवस्था बन्न सक्ने देखिएको छ।

प्रसाईँले नेपाली सेनालाई नागरिकको जीवन र सम्पत्ति सुरक्षामा चनाखो हुन आग्रह गरेका छन्। साथै जेनजीहरूलाई लक्षित गरेर गरिएका धडपकड र गिरफ्तारी तत्काल रोक्नुपर्नेमा जोड दिँदै अन्यथा मुलुक अझ भयावह गृहयुद्धमा फस्ने चेतावनी दिएका छन्।